सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिका–१ हरैंचा बजारस्थित नरसिंह मेमोरियल इङ्ग्लिस स्कुलको ३४औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन वडा अध्यक्ष राम विश्वास खवासले गरेका थिए।कार्यक्रममा शैक्षिक सत्रको नतिजा सार्वजनिक गर्दै उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो। साथै विद्यालयमा अध्ययनरत विद्यार्थीका हजुरबुवा–हजुरआमा तथा ज्येष्ठ नागरिकहरूलाई विशेष सम्मान गरिएको थियो।
यस अवसरमा “नरसिंह डान्स आइडल” पहिलो सिजनका उत्कृष्ट विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनुका साथै एसइई दिएका विद्यार्थीहरूलाई औपचारिक रूपमा बिदाइ गरिएको थियो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोबिन्द कार्कीले गुणस्तरीय शिक्षा र अनुशासनलाई प्राथमिकता दिँदै विद्यालय अघि बढिरहेको बताए। प्याब्सन नगर अध्यक्ष दिपक क्षेत्रीले निजी विद्यालयहरूको शैक्षिक योगदान उल्लेख गरेका थिए।
कार्यक्रमको समापनमा प्रिन्सिपल केशव सापकोटाले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति र नृत्यले कार्यक्रम आकर्षक बनेको थियो।





