मणिराम दाहाल / सुन्दरहरैँचा
आस्था, श्रद्धा र भक्तिभावका साथ मनाइने सूर्य उपासनाको महापर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सोमबार बिहान सम्पन्न भएको छ।
छठ पर्वको अन्तिम दिन आज बिहान मोरङको सुन्दरहरैँचासहित तराईका विभिन्न स्थानमा रहेका नदी, खोला, पोखरी तथा जलाशयमा निर्माण गरिएका छठ घाटमा व्रतालु तथा भक्तजनले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा–आराधना गरेका छन्। मोरङको सुन्दरहरैँचाका विभिन्न स्थानमा निर्माण गरिएका छठ घाटमा बिहानैदेखि व्रतालु तथा भक्तजनको उल्लेख्य भीड लागेको थियो। बुढीखोला, गछिया खोला, गोठगाउँको मध्याली खोला, सलकपुरस्थित भुल्के जलाधार, विराटचोकस्थित कालीखोला तथा किस्ती खोलालगायतका स्थानमा छठ पर्व उल्लासपूर्ण वातावरणमा मनाइएको छ।
विशेषगरी सुन्दरहरैँचा–८ स्थित भुल्के जलाधारमा रहेको सलकपुर छठ पूजा सेवा समितिले व्यवस्थापन गरेको छठ घाटमा हजारौँ भक्तजन सहभागी भएका थिए। यहाँ आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न तथा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन व्रतालु र श्रद्धालुहरूको ठूलो उपस्थिति रहेको थियो। आकर्षक रूपमा सजाइएको घाटमा पूजाका सामग्री, फलफूल, प्रसाद तथा दीप प्रज्वलनले छठको रौनक थपिएको थियो।
सलकपुर छठ पूजा सेवा समितिका अध्यक्ष देवेन्द्र ठाकुरले भुल्के जलाधारमा छठ पर्वका अवसरमा हजारौँ भक्तजनको सहभागिता रहेको बताए । उनले स्थानीयवासी, समिति तथा विभिन्न क्षेत्रबाट प्राप्त सहयोग र सहकार्यका कारण छठ पूजा व्यवस्थित रूपमा सम्पन्न भएको उल्लेख गरे । छठ पर्वले धार्मिक आस्था, सामाजिक एकता र आपसी सद्भावलाई बलियो बनाउने बताउँदै उनले पर्व सफल बनाउन सहयोग गर्ने सम्पूर्ण भक्तजन, स्थानीयवासी तथा सहयोगीप्रति धन्यवाद व्यक्त गरे ।
त्यसैगरी, सुन्दरहरैँचा छठ पूजा सेवा समितिकी अध्यक्ष विमला शर्माले नगरका विभिन्न स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थाणपन गरी पर्वलाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गरिएको बताइन । उनले छठ पर्वमा महिला तथा पुरुष व्रतालुसहित बालबालिका, युवा र ज्येष्ठ नागरिकको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै यस पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक एकतालाई थप मजबुत बनाएको उल्लेख गरिन् । पर्व सफल बनाउन सहयोग गर्ने सबैप्रति उनले आभारसमेत व्यक्त गरिन् ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो तथा अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा रहेको छ। व्रतालुहरूले बाँसका डालो तथा नाङ्लोमा ठेकुवा, भुसुवा, नरिवल, केरा, उखु तथा विभिन्न फलफूल सजाएर सूर्यदेव र छठी माताको पूजा गरेका थिए।
प्रकृति, सूर्य र जलप्रति कृतज्ञता प्रकट गर्ने छठ पर्वले धार्मिक आस्था र विश्वाससँगै पारिवारिक सुख, शान्ति, समृद्धि, आपसी सद्भाव तथा सामाजिक एकताको सन्देश प्रवाह गर्दै आएको छ। पछिल्लो समय छठ पर्व तराई–मधेसमा मात्र सीमित नरही पहाडी तथा हिमाली क्षेत्रका विभिन्न स्थानमा समेत उत्साहपूर्वक रूपमा मनाउन थालिएको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईले जानकारी दिए ।





