सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसको क्याम्पस सभा (सिनेट) को २०औँ बैठक शनिबार सम्पन्न भएको छ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले क्याम्पसको प्रगति, नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटसहित विभिन्न विषयमा छलफल तथा निर्णय गरेको छ। सिनेट बैठकको पहिलो चरणमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा १३८ जना जेहेन्दार विद्यार्थीलाई कुल ८ लाख ६१ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो। छात्रवृत्ति वितरणका लागि अक्षय कोषबाट प्राप्त ब्याज, विभिन्न दाता संघ–संस्था तथा व्यक्तिबाट प्राप्त सहयोग, वित्तीय संस्था तथा दातृ निकायको सहयोग र क्याम्पस कोषको रकम प्रयोग गरिएको क्याम्पसले जनाएको छ।
छात्रवृत्ति समितिका संयोजक रमेश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापा र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले क्याम्पसले सञ्चालन गर्दै आएको छात्रवृत्ति योजनाबारे जानकारी गराउनुभएको थियो। सहायक क्याम्पस प्रमुख बलराम पोखरेलका अनुसार चालु आर्थिक वर्षमा विद्यार्थीलाई कुल ५६ लाख ९९ हजार ५ सय रुपैयाँ छात्रवृत्ति वितरण गर्ने योजना रहेको छ।
सिनेट बैठकको उद्घाटन सत्रमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले क्याम्पसको प्रगति प्रतिवेदन, आगामी नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०८३/०८४ का लागि २५ करोड ८५ लाख ३६ हजार ३ सय ४० रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो। क्याम्पस सञ्चालक समितिका सदस्य टीकाप्रसाद कट्टेलले स्वागत मन्तव्य राख्नुभएको उद्घाटन सत्रमा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा. डा. खड्गबहादुर केसी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, जनभावना क्याम्पस ललितपुरका क्याम्पस प्रमुख तथा पब्लिक क्याम्पस संघका निवर्तमान केन्द्रीय अध्यक्ष शिवराज सञ्जेललगायत विभिन्न क्याम्पसका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सोही अवसरमा विश्वविद्यालय अनुदान आयोग नेपालको अनुदानमा निर्माण गरिएको सुकुना क्याम्पसको १४ कोठे भवनको उद्घाटनसमेत गरिएको थियो। भवन उद्घाटन गर्दै प्रमुख अतिथि प्रा. डा. केसीले सामुदायिक क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि विश्वविद्यालय अनुदान आयोगले आर्थिक, भौतिक, व्यवस्थापकीय तथा अनुसन्धानका क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो। उहाँले सुकुना क्याम्पसको कार्यसम्पादनप्रति आफू सन्तुष्ट रहेको धारणा व्यक्त गर्नुभयो।
सिनेट बैठकका क्रममा क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष देवेन्द्रकुमार मास्के, पूर्वउपाध्यक्ष उद्धवप्रसाद रिजाल, पूर्वक्याम्पस प्रमुख पीतकुमार श्रेष्ठ, पूर्वविद्यार्थी डा. नेत्रबहादुर कार्की तथा सामुदायिक क्याम्पसमा उत्कृष्ट नतिजा हासिल गर्ने बीएड विज्ञानकी छात्रा जीविका सापकोटालाई सम्मान गरिएको थियो। कार्यक्रममा स्ववियु अध्यक्ष एलिस ओझा, दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख यज्ञराज गिरी, सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा. नेत्रबहादुर कार्की तथा जनभावना क्याम्पस ललितपुरका क्याम्पस प्रमुख शिवराज सञ्जेलले सिनेट बैठकको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
उद्घाटन सत्रपछि क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा बन्दसत्र सञ्चालन भएको थियो। बन्दसत्रले क्याम्पसको प्रगति प्रतिवेदन, आन्तरिक लेखा समितिको प्रतिवेदन, नीति तथा कार्यक्रम तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित २५ करोड ८५ लाख ३६ हजार ३ सय ४० रुपैयाँको बजेट पारित गरेको छ।
कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले गर्नुभएको थियो।





