मणिराम दाहाल / सुन्दरहरैँचा
मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ २ लाख ३१ हजार ८ सय ३३ रुपैयाँ सहयोग गरेको छ।
क्याम्पसले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो। विपद्का कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरू प्रभावित बनेपछि राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले क्याम्पसले आर्थिक सहयोग गरेको जनाएको छ। सामुदायिक क्याम्पस भएकाले आफ्नै आर्थिक तथा प्रशासनिक चुनौतीहरू रहे पनि विपद्को समयमा पीडित नागरिकप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्न सहयोग गरिएको क्याम्पसले जनाएको छ।
क्याम्पस प्रमुख अर्जुनराज अधिकारीका अनुसार विपद् जुनसुकै ठाउँमा भए पनि त्यसबाट प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व हो। क्याम्पसको सीमित स्रोतसाधनका बाबजुद विपद परेका नागरिकलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम प्रदान गरिएको उनले बताए। उनले सामुदायिक क्याम्पसहरू आर्थिक रूपमा विभिन्न चुनौतीसँग जुधिरहेको अवस्थामा पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै मानवीय सहयोगका कार्यमा सहभागी हुनुपर्ने बताए। सुकुना बहुमुखी क्याम्पसले विगतमा पनि विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएको जनाइएको छ।
रसुवा बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला क्याम्पसले गरेको सहयोगले विपद्का समयमा शैक्षिक संस्थाको सामाजिक भूमिकालाई समेत उजागर गरेको छ। क्याम्पसले आगामी दिनमा पनि आवश्यकता अनुसार सामाजिक उत्तरदायित्वका कार्यमा निरन्तर सहकार्य गर्ने जनाएको छ।





