✍️ दुर्गाप्रसाद खरेल
शरद् ऋतु प्रकृतिको सौन्दर्य, मानवीय श्रमको सार्थकता र सांस्कृतिक उल्लासको अनुपम सङ्गम हो । वर्षाले पखालेको स्वच्छ आकाश, पाकेर झुलेका अन्नबाली, बारीका डिलमा फुलेका सयपत्री र घरआँगनमा बालिएका दीपहरूले नेपाली जीवनमा नयाँ उमङ्ग र आशा सञ्चार गर्छन्। किसानको महिनौँको परिश्रम अन्न बनेर घर भित्रिने यस समयमा तिहारदेखि छठसम्मका पर्वहरूले प्रकृति, श्रम, आस्था, प्रेम र सामाजिक आत्मीयतालाई उत्सवमय बनाउँछन्।
नेपाली समाजका यी पर्व केवल धार्मिक अनुष्ठान वा परम्परागत मनोरञ्जनका अवसर मात्र होइनन्; यी हाम्रो जीवनदर्शन, सांस्कृतिक पहिचान र सामाजिक सम्बन्धका जीवन्त अभिव्यक्ति पनि हुन्। काग, कुकुर, गाई र गोरुको सम्मान, लक्ष्मीपूजाको दीपोत्सव, देउसी–भैलोको सामूहिक उल्लास, म्हःपूजाको आत्मबोध, भाइटीकाको स्नेह, नेपाल संवत्को नववर्ष र छठको सूर्योपासनाले जीवनका विविध पक्षलाई एउटै सांस्कृतिक सूत्रमा गाँस्छन् । यी उत्सवमा इतिहासको स्मृति, प्रकृतिप्रतिको कृतज्ञता र उज्ज्वल भविष्यको कामना एकाकार भएका हुन्छन् ।
वैदिक पर्वहरूको तालिकामा दीपावलीको यो पर्वलाई शारदीय नवसस्येष्टिको रूपमा चिनिन्छ । वैदिक दर्शन र परम्पराले नयाँ अन्नको प्राप्तिलाई कृतज्ञता र समर्पणसँग जोडेको छ । अन्नको एउटा दानामा पृथ्वीको उर्वरता, जलको पोषण, सूर्यको ऊर्जा, ऋतुको अनुकूलता र किसानको पसिना समाहित हुन्छ । त्यसैले अन्न केवल उपभोगको वस्तु होइन, प्रकृति र श्रमप्रतिको सम्मानको प्रतीक पनि हो । आफ्नो परिश्रमको फल प्राप्त गर्दा त्यसमा प्रत्यक्ष वा परोक्ष योगदान पुर्याउने समस्त प्रकृति, समाज र श्रमिकप्रति कृतज्ञ हुनु नै यस परम्पराको गहिरो सन्देश हो ।
दीपावलीको उज्यालोले घरआँगन मात्र होइन, हाम्रो अन्तर्मन पनि प्रकाशित गर्नुपर्छ। लक्ष्मीपूजाले समृद्धिको कामना गर्छ, तर समृद्धिको वास्तविक अर्थ धन सञ्चयमा मात्र सीमित हुँदैन। इमानदार श्रम, विवेकपूर्ण सञ्चय, संयमित उपभोग र उदार वितरणबाट प्राप्त सम्पन्नता नै व्यक्ति, परिवार र समाजका लागि कल्याणकारी हुन्छ। आफ्नो भकारी भरिँदा अरूको भोक सम्झन सक्नु, प्राप्तिमा कृतज्ञ हुनु र सम्पन्नतालाई परोपकारसँग जोड्नु नै समृद्धिको वास्तविक नैतिकता हो। अँध्यारो हटाउन दीप बाल्नु जति आवश्यक छ, समाजमा रहेका अज्ञान, अन्याय, विभेद र पूर्वाग्रह हटाउनु पनि त्यत्तिकै आवश्यक छ ।
तिहारले मानिस र प्रकृतिबीचको परस्पर निर्भरता पनि स्मरण गराउँछ। कागलाई आहारा, कुकुरलाई माला र टीका, गाईलाई पूजा तथा गोरुप्रति सम्मान व्यक्त गर्ने परम्पराले मानवेतर प्राणीहरूको महत्त्व उजागर गर्छ । कृषि, जीविका, पर्यावरण र मानव जीवनमा तिनको योगदान अतुलनीय छ । त्यसैले पर्वका दिन गरिने सम्मान व्यवहारमा पनि प्रतिबिम्बित हुनुपर्छ। पशुप्रति करुणा, उचित आहार, संरक्षण र सुरक्षित जीवनको व्यवस्था हाम्रो नियमित दायित्व बन्नुपर्छ। प्रकृति, पशुधन, भूमि र वनस्पतिको संरक्षणबिना मानव समृद्धि सम्भव छैन ।
म्हःपूजाले मानिसलाई आफ्नै अस्तित्व, शरीर र जीवनको महत्त्वबारे चिन्तन गर्न प्रेरित गर्छ। आफ्नो जीवनप्रति श्रद्धा राख्नु भनेको स्वास्थ्य, अनुशासन, आत्मसम्मान र उत्तरदायित्वलाई आत्मसात् गर्नु हो। त्यस्तै, धन्वन्तरि जयन्तीले आरोग्य, सन्तुलित आहार, नियमित दिनचर्या, स्वच्छता र स्वास्थ्यसेवाको महत्त्व सम्झाउँछ। शरीर स्वस्थ, मन सकारात्मक र आचरण अनुशासित भए मात्र जीवनका सम्भावनाहरू सार्थक बन्न सक्छन् ।
भाइटीकाले पारिवारिक सम्बन्धको आत्मीयतालाई जीवन्त बनाउँछ। दिदीबहिनी र दाजुभाइबीचको प्रेम, विश्वास, दीर्घायुको कामना र सुखदुःखमा साथ दिने प्रतिबद्धता यस पर्वका सुन्दर पक्ष हुन्। माला र टीकाले स्नेहको प्रतीकात्मक अभिव्यक्ति दिन्छन् भने व्यवहारमा देखिने सहयोग, सम्मान र आत्मीयताले सम्बन्धलाई दिगो बनाउँछन्। यसले परिवारभित्र मात्र होइन, समग्र समाजमा पनि प्रेम, सद्भाव र सहकार्यको भावना विस्तार गर्न प्रेरित गर्छ ।
छठ पर्वले प्रकृति र मानवबीचको सम्बन्धलाई अझ गहिरो आध्यात्मिक अर्थ प्रदान गर्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्पराले सूर्यबाट प्राप्त प्रकाश, ऊर्जा र जीवनदायिनी शक्तिप्रति कृतज्ञता व्यक्त गर्छ । नदी, पोखरी र जलाशयको सरसफाइमा समुदायको सामूहिक सहभागिताले वातावरण संरक्षण र सामाजिक सहकार्यको महत्त्व पनि उजागर गर्छ। पर्वका अवसरमा सफा गरिएका जलस्रोतलाई वर्षभरि स्वच्छ राख्न सके मात्र यस परम्पराको सन्देश व्यवहारमा सार्थक हुनेछ ।
यी सांस्कृतिक उत्सवहरूकै आसपास विभिन्न महापुरुषहरूको जन्मजयन्ती र स्मृतिदिवस पर्नु अर्को महत्त्वपूर्ण संयोग हो । महर्षि दयानन्द सरस्वतीले वेदाध्ययन, सत्यको अन्वेषण र सामाजिक सुधारका माध्यमबाट विवेकपूर्ण समाज निर्माणको प्रेरणा दिनुभयो । पण्डित माधवराज जोशीले आर्यसमाजमार्फत सामाजिक तथा धार्मिक जागरणको अभियान अघि बढाउनुभयो । उहाँहरूको जीवनले सत्यनिष्ठा, सुधारप्रतिको प्रतिबद्धता र सामाजिक समानताको महत्त्व सम्झाउँछ ।
महागुरु फाल्गुनन्दले किरात धार्मिक तथा सामाजिक जीवनमा सदाचार, संयम र आत्मपरिष्कारको सन्देश प्रवाह गर्नुभयो। उहाँको योगदानले नेपाली समाजको सांस्कृतिक विविधता र मौलिक परम्पराको महत्त्व उजागर गर्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यलाई मानवता, करुणा, प्रेम र जीवनचेतनाको उच्चतम अभिव्यक्ति प्रदान गर्नुभयो । उहाँका सिर्जनाले मानिसको दुःख, सङ्घर्ष र गरिमालाई आत्मीयतापूर्वक प्रस्तुत गर्दै मानवताको मूल्य जातीय, वर्गीय वा अन्य विभाजनभन्दा माथि रहेको सन्देश दिन्छन् ।
त्यस्तै, नेपाल संवत्का प्रवर्तकका रूपमा स्मरण गरिने शङ्खधर साख्वाःको परोपकारी योगदानले आर्थिक मुक्ति, सामाजिक न्याय र लोककल्याणको महत्त्व सम्झाउँछ। अरूको दुःख कम गर्न आफ्नो सामर्थ्य प्रयोग गर्नु नै वास्तविक सम्पन्नता र मानवीय गरिमा हो भन्ने प्रेरणा उहाँको स्मृतिले दिन्छ। यी सबै व्यक्तित्वका विचार र योगदान फरक भए पनि तिनको साझा आधार सत्य, सेवा, सदाचार, सामाजिक सुधार र मानवीय कल्याण नै हो।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाज हो । यहाँका पर्व, परम्परा र विश्वासका विधि फरक हुन सक्छन्, तर तिनमा निहित प्रेम, शान्ति, करुणा, कृतज्ञता र सहअस्तित्वका मूल्य साझा छन्। राष्ट्रिय एकता भनेको सबैको मौलिकता मेटाएर एउटै रूप बनाउनु होइन; विविध पहिचानलाई सम्मान गर्दै साझा राष्ट्रिय भावनामा आबद्ध हुनु हो । राष्ट्रिय गानमा व्यक्त ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली’ भन्ने भावले पनि यही सांस्कृतिक एकताको सुन्दर दर्शन प्रस्तुत गर्छ। अन्ततः शरद्का यी उत्सवहरूले हामीलाई एउटा महत्त्वपूर्ण जीवनसन्देश दिन्छन्—प्रकृतिप्रति कृतज्ञ बनौँ, श्रमको सम्मान गरौँ, समृद्धिलाई परोपकारसँग जोडौँ, प्राणीप्रति करुणा राखौँ, परिवारमा आत्मीयता बढाऔँ र समाजमा सद्भाव कायम गरौँ। पर्वको वास्तविक सार त्यसको बाह्य तामझाममा होइन, त्यसले हाम्रो विचार, व्यवहार र जीवनपद्धतिमा ल्याउने सकारात्मक परिवर्तनमा निहित हुन्छ ।
घरमा बालिएको दीप निभेपछि पनि विवेकको उज्यालो निभ्न नदिऔँ । फूलका माला ओइलाएपछि पनि सम्बन्धको स्नेह ताजा राखौँ। उत्सवको उल्लास समाप्त भएपछि पनि परोपकार, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना जीवित राखौँ । ज्ञानको प्रकाश, प्रकृतिप्रतिको सम्मान, प्राणिप्रति करुणा र मानवताप्रतिको समर्पण नै हाम्रो शरदुत्सवका वास्तविक उपलब्धि बनून् ।





