मणिराम दाहाल / सुन्दरहरैँचा
आस्था, श्रद्धा र भक्तिभावका साथ मनाइने सूर्य उपासनाको महापर्व छठको मुख्य दिन आज मोरङको सुन्दरहरैँचासहित तराईका विभिन्न क्षेत्रमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ ।
पर्वका अवसरमा सुन्दरहरैँचाका विभिन्न खोला तथा जलाधार क्षेत्रमा स्थानीय र छठ पूजा सेवा समितिको सक्रियतामा छठ घाट निर्माण गरिएका छन् । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोला, गछिया खोला, गोठगाउँको मध्याली खोला, सलकपुरस्थित भुल्के जलाधार, विराटचोकस्थित कालीखोला तथा किस्ती खोलालगायतका स्थानमा स्थानीयवासी र समितिले सरसफाइ गरी पूजा तथा अर्घ्यका लागि घाट निर्माण गरेका हुन् । घाटहरूलाई व्यवस्थित र आकर्षक बनाइएको छ भने व्रतालु तथा भक्तजनको सहजताका लागि आवश्यक तयारीसमेत गरिएको छ ।
छठ पर्वलाई लक्षित गर्दै स्थानीयवासीको सक्रियता बढेको छ । खोलाका घाटहरूमा सरसफाइ, सजावट तथा व्यवस्थापनका काम गरिएको छ । पर्वका कारण स्थानीय बजारमा समेत चहलपहल बढेको छ भने पूजा सामग्री, फलफूल तथा प्रसादका सामग्री किनमेल गर्नेहरूको भीड देखिएको छ । छठको रौनकले बजार तथा बस्तीहरूमा उत्साह थपेको छ ।
सुन्दरहरैँचा छठ पूजा सेवा समितिकी अध्यक्ष विमला शर्माले छठ पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई बलियो बनाउने बताउनुभयो । उहाँले छठ पर्वलाई व्यवस्थित, मर्यादित र स्वच्छ वातावरणमा सम्पन्न गर्न स्थानीयवासी तथा समितिको सक्रियतामा विभिन्न स्थानमा घाट निर्माण तथा सरसफाइ गरिएको जानकारी दिनुभयो । अध्यक्ष शर्माले छठ पर्वमा सहभागी हुने सम्पूर्ण व्रतालु तथा भक्तजनलाई श्रद्धा, भक्तिभाव र अनुशासनपूर्वक पर्व मनाउन आग्रह गर्दै छठले सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
चारदिने छठ पर्वको तेस्रो दिन आज व्रतालुहरूले दिनभर निर्जला उपवास बसेर साँझ नदी, खोला, पोखरी तथा जलाशयमा निर्माण गरिएका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेको छ । बाँसका डालो तथा नाङ्लोमा ठेकुवा, भुसुवा,नरिवल, केरा, उखु तथा विभिन्न फलफूल सजाएर सूर्यदेवको पूजा गरिन्छ ।
छठ पर्वको चौथो तथा अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरूले पूजा सम्पन्न गरी प्रसाद ग्रहण गर्दै व्रत समापन गर्नेछन् । प्रकृति, सूर्य र जलप्रति आस्था प्रकट गर्ने छठ पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक एकता तथा सांस्कृतिक एकताको सन्देश प्रवाह गर्दै आएको छ ।





