सुन्दरहरैँचा / सुन्दरहरैँचा–५ बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा आयोजित ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’को उपाधि लभ्ली एन्जल्स इङ्लिस स्कुलले जितेको छ।
सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगितामा सुन्दरहरैँचा र इटहरी क्षेत्रका २६ विद्यालय सहभागी थिए। विभिन्न चरणमा सञ्चालन भएको प्रतियोगितामा सामान्य ज्ञान, विज्ञान, सामाजिक विषय, तर्क तथा समसामयिक विषयमा विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको थियो।
१२० अङ्कसहित लभ्ली एन्जल्स प्रथम, १०५ अङ्कसहित सुविजीमुर मेमोरियल माध्यमिक विद्यालय दोस्रो, ९५ अङ्कसहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तेस्रो र ८० अङ्कसहित शिशिर एकेडेमी सान्त्वना भएको आयोजकले जनाएको छ।
विजेता लभ्ली एन्जल्सले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः ६ हजार र ४ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
कार्यक्रममा प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष दीपक क्षेत्री, सचिव सूर्य दंगाल, सफल सिद्धार्थ एकेडेमीका फाउन्डर सदस्य गोविन्द कार्की तथा प्रिन्सिपल राजन लम्सालले विद्यार्थीको प्रतिभा, तार्किक क्षमता र आत्मविश्वास विकासमा यस्ता प्रतियोगिताको महत्व रहने बताएका थिए।





