;

सुन्दरहरैंचा / बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि प्याबसन सुन्दरहरैंचामा आबद्ध निजी तथा आवासीय विद्यालयहरूले १५ लाख ७० हजार ३१९ रुपैयाँ राहत रकम संकलन गरेका छन्।

नुवाकोट, रसुवा र धादिङलगायत जिल्लामा आएको विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले सुन्दरहरैंचा नगर प्याबसनले आफ्ना सदस्य विद्यालयहरूबाट रकम संकलन गरेको हो। संकलित रु. १५,७०,३१९ प्याबसन राहत कोषमा जम्मा गरिएको नगर प्याबसनले जनाएको छ।

प्याबसन केन्द्रीय उपाध्यक्ष टिकाराम ढकालका अनुसार देशभर प्याबसनमा आबद्ध विद्यालयहरूबाट राहत रकम संकलन गरी १० करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने लक्ष्य राखिएको छ। विपद्को समयमा निजी विद्यालय क्षेत्र पनि सामाजिक उत्तरदायित्वसहित पीडितको साथमा उभिनुपर्ने भएकाले विद्यालयहरूबाट स्वेच्छिक रूपमा सहयोग संकलन गरिएको उनले बताए।

सुन्दरहरैंचा प्याबसनका अध्यक्ष दीपक क्षेत्रीले विपद्मा परेका नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको बताए। विद्यालयहरूले आफ्नो क्षमताअनुसार गरेको योगदानले पीडित परिवारलाई राहत पुग्ने उनको भनाइ छ।

त्यस्तै, नगर प्याबसन सुन्दरहरैंचाका सचिव सूर्य दङ्गालले नगरभित्रका प्याबसनमा आबद्ध विद्यालयहरूबाट संकलित १५ लाख ७० हजार ३१९ रुपैयाँ प्याबसन राहत कोषमा जम्मा भइसकेको जानकारी दिए। उनले विपद्का बेला विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकको समेत सहयोग र सहभागिता महत्वपूर्ण रहेको बताए।

प्याब्सन सुन्दरहरैंचाले सार्वजनिक गरेको विवरणअनुसार बालसदन एकेडेमी, ब्राइट फ्युचर सेकेन्डरी स्कुल, स्कलर्स होम स्कुल, स्कोलर्स होम, हरैंचा मोडेल सेकेन्डरी स्कुल, इन्द्रपुर नमुना सेकेन्डरी स्कुल, सिद्धार्थ सेकेन्डरी स्कुल, क्वेस्ट सेकेन्डरी स्कुल, टेन्डर फिट इङ्लिस स्कुल, सगरमाथा हिमाल दर्शन स्कुल, लिटल पाथिभरा किड्स स्कुल, बालज्योति नमुना इङ्लिस स्कुल, जुपिटर इङ्लिस स्कुल, प्रभात किरण स्कुल, सामुदायिक सरस्वती स्कुल, माउन्ट मकालु सेकेन्डरी स्कुल, ज्ञान ज्योति इङ्लिस स्कुल, बाल प्रतिभा सेकेन्डरी स्कुल, सफल विद्यार्थी एकेडेमी, ओरिजिन इङ्लिस स्कुल, नरसिंह मेमोरियल स्कुल, सुविजिमुर मेमोरियल स्कुल, पूर्वाञ्चल एकेडेमी, लाइटिङ ग्लोबल एकेडेमी, लभ्ली एन्जल्स स्कुल र द राइजिङ इङ्लिस स्कुललगायत २५ विद्यालयले राहत कोषमा योगदान गरेका छन्।

प्याबसन सुन्दरहरैंचाले संकलित रकमलाई सम्बन्धित राहत कोषमार्फत विपद् प्रभावित नागरिकसम्म पुर्‍याउने जनाएको छ। यस अभियानले निजी विद्यालयहरू केवल शैक्षिक संस्थाका रूपमा मात्र नभई विपद् र सामाजिक संकटका समयमा समुदायसँगै उभिने सामाजिक संस्थाका रूपमा समेत आफ्नो भूमिका प्रस्तुत गरेको प्याबसन पदाधिकारीहरूको भनाइ छ।@

तपाईको प्रतिक्रिया

;