;

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–७, गोठगाउँस्थित श्री पञ्चायत माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको मंगलबार समुद्घाटन गरिएको छ

नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारतीय दूतावासको ८० प्रतिशत र सुन्दरहरैँचा नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण सम्पन्न भएको नवनिर्मित भवनको समुद्घाटन गरिएको हो।
नवनिर्मित विद्यालय भवनको समुद्घाटन भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव नारायण सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले संयुक्त रूपमा गरेका थिए।

समुद्घाटन कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए। विद्यालयका लागि निर्माण भएको नयाँ भवनले विद्यार्थीको अध्ययन–अध्यापनलाई सहज बनाउने उल्लेख गर्दै उनले उपलब्ध भौतिक पूर्वाधारको उचित संरक्षण र प्रभावकारी उपयोग गर्न विद्यालय परिवारलाई आग्रह गरे। मुख्यमन्त्री कार्कीले शिक्षा क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताउँदै विद्यालयको भौतिक संरचना मात्र नभई शिक्षाको गुणस्तर, प्रविधिमैत्री सिकाइ र दक्ष जनशक्ति निर्माणमा समेत ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।

त्यस्तै, सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले नगरपालिकाको साझेदारीमा निर्माण भएको विद्यालय भवनले स्थानीय विद्यार्थीको पठनपाठनमा महत्वपूर्ण सहयोग पुग्ने बताए। विद्यालयको आवश्यकता र विद्यार्थीको संख्यालाई ध्यानमा राख्दै भौतिक पूर्वाधार विकासलाई निरन्तरता दिइने उनको भनाइ थियो। नगरप्रमुख गुरागाईंले स्थानीय तह, विद्यालय र समुदायबीचको सहकार्यबाट शैक्षिक क्षेत्रको विकास सम्भव हुने उल्लेख गर्दै नयाँ भवनको संरक्षण र प्रभावकारी उपयोगमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थी सबैको भूमिका महत्वपूर्ण हुने बताए।

नेपाल–भारत विकास सहकार्य अन्तर्गत निर्माण सम्पन्न भएको उक्त भवनले विद्यालयको भौतिक पूर्वाधारमा थप टेवा पुग्नुका साथै विद्यार्थीहरूका लागि सुरक्षित, सहज र व्यवस्थित अध्ययन वातावरण निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा भारतीय राजदूतावासका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

विद्यालयले नयाँ भवनसँगै शैक्षिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा केन्द्रित हुने जनाएको छ। ~ मणिराम दाहाल

तपाईको प्रतिक्रिया

;