;

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–५ स्थित भानु साझा पुस्तकालयमा साहित्यकार पुरन याक्खाद्वारा लिखित तीनवटा साहित्यिक कृति एकसाथ विमोचन तथा विमर्श गरिएको छ।

शनिबार आयोजित कार्यक्रममा कविता सङ्ग्रह ‘चर्किएको सिसाभित्र’, गीत सङ्ग्रह ‘तिमी बिनाको जिन्दगी’ र गजल सङ्ग्रह ‘पलाँसको फूल’ सार्वजनिक गरिएको हो। भानु साझा पुस्तकालयका अध्यक्षसमेत रहेका याक्खाका तीनवटै कृति पुस्तकालयले प्रकाशन गरेको हो। प्रमुख अतिथि कवि तथा साहित्यकार मनु मञ्जिल, विशिष्ट अतिथि वरिष्ठ साहित्यकार बम देवानलगायत साहित्यकार तथा स्रष्टाहरूले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको थियो।

विमोचनपछि तीनवटै कृतिमाथि साहित्यिक विमर्श गरिएको थियो। प्राज्ञ डा. अस्मिता विष्टले कविता सङ्ग्रह ‘चर्किएको सिसाभित्र’ माथि विमर्श गर्दै शीर्षकले नै पाठकमा कौतूहल र चासो उत्पन्न गर्ने बताउनुभयो। उहाँले जीवनका टुक्राटुक्रा अनुभूतिलाई चर्किएको सिसाभित्र देखाउने प्रयास कृतिमा गरिएको उल्लेख गर्नुभयो।

१०३ कविता समेटिएको उक्त सङ्ग्रहमा सामाजिक द्वन्द्व, वातावरणीय क्षय, भुइँमान्छेका पीडा, प्रेम तथा बिछोडका विषय समेटिएका छन्। कार्यक्रममा हीरा खड्का अधिकारीले ‘टोटलाको फूल’, भरत बर्बरिकले ‘कवि रोएको बेला’ र हेमन यात्रीले ‘राग’ शीर्षकका कविता वाचन गर्नुभएको थियो।

गीत सङ्ग्रह ‘तिमी बिनाको जिन्दगी’ माथि साहित्यकार जेबी थुलुङले विमर्श गर्नुभएको थियो। १०१ गीत समेटिएको सङ्ग्रहमा ग्रामीण परिवेश, प्रेम, सामाजिक विकृति, द्वन्द्व र परदेशीका पीडालाई चित्रण गरिएको छ। पञ्चायतकालीन समयमा सिर्जना गरिएका गीतमा तत्कालीन शासकविरुद्धका आवाजसमेत अभिव्यक्त भएको थुलुङले बताउनुभयो।

कार्यक्रममा गायक दुर्गा पराजुलीले सङ्ग्रहमा समेटिएको ‘तिम्रो मुस्कानको हाँसो’ बोलको गीत प्रस्तुत गर्नुभएको थियो। उक्त गीत पराजुलीको स्वरमा रेकर्ड भई युट्युबमार्फत सार्वजनिक भइसकेको छ। नवराज पोखरेल ‘नवशिला’ र किरण टी. लिम्बूले पनि सङ्ग्रहभित्रका गीत प्रस्तुत गर्नुभएको थियो।

गजल सङ्ग्रह ‘पलाँसको फूल’ माथि गजलकार विवश बलिभद्र कोइरालाले विमर्श गर्दै पलाँस शब्द आफैँमा उपेक्षित तथा प्रतीकात्मक अर्थ बोकेको शब्द भएको बताउनुभयो। ७३ गजल समेटिएको सङ्ग्रहमा प्रेम, शृङ्गार तथा जीवनका विविध अनुभूतिलाई अभिव्यक्त गरिएको छ। कार्यक्रममा रूपनारायण श्रेष्ठले ‘कति रेटुँ जिन्दगी’ र रमेश निरौलाले ‘जताजता बग्छौ तिमी त्यतै हुन्छु म’ बोलका गजल वाचन गर्नुभएको थियो।

कार्यक्रममा पुस्तकालयका सल्लाहकार राजकुमार तामाङले सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण पठन संस्कृतिमा असर परेको बताउनुभयो। वरिष्ठ साहित्यकार बम देवानले साहित्यलाई लेखक र पाठकबीचको सिर्जनात्मक खेलका रूपमा व्याख्या गर्दै साहित्यिक सिर्जनाले दुई पक्षबीचको सम्बन्धलाई सुदृढ बनाउने धारणा व्यक्त गर्नुभयो।

लेखकीय मन्तव्य राख्दै साहित्यकार याक्खाले जीवनमा भुइँमा पोखिएका अनुभूति, गोठालो गर्दाका अनुभव, पहाडी परिवेश तथा सुखदुःखका विषयलाई आफ्ना सिर्जनामा समेटेको बताउनुभयो। प्रमुख अतिथि मनु मञ्जिलले एकैसाथ तीनवटा साहित्यिक कृति सार्वजनिक हुनु आफैँमा महत्त्वपूर्ण र प्रशंसनीय उपलब्धि भएको बताउनुभयो। उहाँले कविता सङ्ग्रह ‘चर्किएको सिसाभित्र’ ले जीवनका टुक्राटुक्रा अनुभूतिलाई साहित्यिक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको उल्लेख गर्नुभयो।

कार्यक्रममा पुस्तकालयका साहित्यिक सचिव विशाल गुरागाईंले स्वागत मन्तव्य राख्नुभएको थियो। सहजकर्ता तथा पुस्तकालयका सचिव गीताप्रसाद श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमको सभापतित्व पुस्तकालयका उपाध्यक्ष लोक मोक्तानले गर्नुभएको थियो।
कार्यक्रममा हेमसागर पोखरेल, राजकुमार तामाङ र बम देवानलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । मोरङ, सुनसरी, झापा र इलामका साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा साहित्यिक सिर्जना, विमर्श र प्रस्तुतिमार्फत सिर्जनात्मक संवादको वातावरण बनेको थियो।

तपाईको प्रतिक्रिया

;