– छवि वैरागी घिमिरे
नेपालको राजनीति आज एउटा निर्णायक मोडमा उभिएको छ। यो केवल चुनावी प्रतिस्पर्धा होइन। यो पुरानो मानसिकता र नयाँ चेतनाबीचको सङ्घर्ष हो। दशकौँदेखि सत्ता वरिपरि घुमिरहेकाहरूले राज्यलाई आफ्नै सम्पत्ति जस्तो ठान्ने भूल गरे। परिणामस्वरूप जनतामा निराशा,आक्रोश र परिवर्तनको तीव्र चाहना जन्मियो।
लामो समयदेखि सत्ता चलाउँदै आएका नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेकपा माओवादी जस्ता दलहरू आफ्नै इतिहासको गौरव र क्रान्ति बोकेर हिँडिरहे। उनीहरूले आन्दोलन, लोकतन्त्र र संविधान निर्माणको कथा सुनाइरहे। तर जनता अहिले इतिहास मात्र सुन्ने अवस्थामा थिएनन्। उनीहरू वर्तमानको उत्तर खोजिरहेका थिए। देशमा गरिबी अझै उस्तै छ।रोजगारीको अभाव उस्तै छ।भ्रष्टाचारका काण्डहरू उस्तै छन्। नेतृत्वको शैली पनि उस्तै छ। जहाँ अहङ्कार,गुटबन्दी,सत्ताको लोभ र चरम भ्रष्टाचार जीवित छ। यो ज्यादतीलाई जनताले नजिकबाट बुझे। लोकतन्त्रको नाममा सत्ता केही सीमित अनुहारहरूको हातमा केन्द्रित हुँदै गयो। राजनीति सेवा होइन, सत्ता र अवसरको व्यापार जस्तो बन्न थाल्यो। यही ठाउँमा पुराना दलहरूले सबैभन्दा ठूलो गल्ती गरे। जुन उनीहरूले जनताको धैर्यलाई कमजोरी ठाने।तर समय सधैँ एउटै रहँदैन।किनकि आजका युवा पुस्ता पुरानो पुस्ताभन्दा धेरै फरक छन् । उनीहरू सूचना र प्रविधिको युगमा हुर्किएका छन्। संसार उनीहरूको हातको मोबाइलभित्र छ। उनीहरूले देखिरहेका छन् कि विश्व कति छिटो बदलिरहेको छ। कृत्रिम बुद्धिमत्ता,डिजिटल अर्थतन्त्र र नयाँ शासन
प्रणालीहरूले विश्वलाई नयाँ दिशातर्फ लैजाँदै छन्।तर नेपालमा राजनीति अझै पनि पुरानै भाषण र पुरानै अनुहारमा अडिएको देखिन्छ।
युवाहरूले यो अन्तर तीव्र रूपमा महसुस गरे। उनीहरूले देखे कि देशमा अवसर छैन, सम्भावना छैन, र भविष्य पनि अनिश्चित छ। त्यसैले लाखौँ युवा विदेशतर्फ लागे। गाउँहरू सुनसान भए। परिवारहरू टुक्रिए। अनि देशको सबैभन्दा शक्तिशाली ऊर्जा युवाशक्ति देशबाहिर बग्यो।यो पलायन केवल आर्थिक कारणले मात्र भएको होइन। यो राजनीतिक निराशाको परिणाम पनि हो।यही निराशाको बीचमा नयाँ राजनीतिक शक्तिको उदय भयो। विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता दलहरूले युवाको मनोविज्ञानलाई छोए। उनीहरूले आफूलाई पुरानो राजनीतिक संस्कृतिको विकल्पको रूपमा प्रस्तुत गरे। यसले जनतामा एउटा आशा जगायो। सायद अब राजनीति बदलिन सक्छ। सायद अब नयाँ अनुहारहरूले नयाँ सोच ल्याउन सक्छन् भन्ने विश्वास थपियो।
यद्यपि,यो परिवर्तनको लहर केवल पार्टी परिवर्तनको कुरा होइन। यो राजनीतिक संस्कृतिको परिवर्तनको माग हो। जनता अब भाषण होइन,परिणाम चाहन्छन्। नारा होइन,काम चाहन्छन्।खुँडा खुकुरी होइन कलम चाहन्छन्। क्रान्ति गर्न जङ्गल छिर्ने होइन घरबाट गर्न चाहन्छन्। इतिहासको गौरव जोगाएर भविष्यको सम्भावना चाहन्छन्।
आजको निर्वाचन परिणामले एउटा स्पष्ट सन्देश दिन थालेको छ।जनताको धैर्यको सीमा हुन्छ। जब नेतृत्व जनताको पीडा बुझ्न असफल हुन्छ,तब जनता नयाँ बाटो रोज्छन्।यदि पुराना दलहरूले अझै पनि आफ्नो दम्भ,घमण्ड र सत्तालोभ त्याग्न सकेनन् भने उनीहरू क्रमशः जनताको स्मृतिबाट मेटिँदै जानेछन्। इतिहासमा उनीहरूको स्थान रहला तर वर्तमानमा उनीहरूको प्रभाव घट्दै जानेछ। अझ भनौं प्रभाव समाप्त भइसकेको छ। अर्कोतर्फ यदि नयाँ शक्तिले पनि पुरानै रोग,भ्रष्टाचार,अवसरवाद र सत्तालालसा अँगाल्यो भने जनता फेरि अर्को विकल्प खोज्नेछन्। किनकि अब नेपाली समाज स्थिर छैन। यो परिवर्तनको खोजीमा छ।
अन्ततः यो चुनाव एउटा साधारण राजनीतिक घटना मात्र होइन। यो नेपाली समाजको मनोविज्ञानमा आएको परिवर्तनको सङ्केत हो। त्यसैले यो सन्देश स्पष्ट छ। दम्भको राजनीति अब टिक्दैन।अबको समय उत्तरदायी, पारदर्शी र भविष्यदर्शी नेतृत्वको हो।नेपालको राजनीतिमा अहिले सुनिन थालेको आवाज यही हो।परिवर्तन केवल नारा होइन अपरिहार्य हो। युवाहरूलाई जितको शुभकामना ।
जय देश
– मोरङ





