सुन्दरहरैँचा / केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले पछिल्लो समय बढ्दै गएको गिट्टी, बालुवा तथा अन्य प्राकृतिक स्रोतको अवैध उत्खननप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष मिरिङचिङले अवैध उत्खनन नियन्त्रणमा सम्बन्धित निकायको भूमिका कमजोर देखिएको आरोप लगाएका छन्। उनले प्रश्न गर्दै लेखेका छन्, “केराबारी प्रहरीको काम गिट्टी चोरहरूसँग सेटिङ गर्ने मात्र हो ?”
उनले प्राकृतिक स्रोतको दोहन रोक्न तत्काल प्रभावकारी अनुगमन, कानुनी कारबाही तथा जिम्मेवार निकायको सक्रियता आवश्यक रहेको उल्लेख गरेका छन्। स्थानीय स्तरमा भइरहेको अवैध उत्खननले वातावरणीय जोखिम बढ्नुका साथै राज्यको राजस्वमा समेत क्षति पुगिरहेको उनको भनाइ छ।





