सुन्दरहरैँचा / मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य भारी मतान्तरसहित विजयी हुनुभएको छ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई पराजित गर्दै आचार्यले उल्लेखनीय जित हासिल गर्नुभएको हो।
निर्वाचन परिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले १२ हजार ८५० मत पाउनुभएको छ। त्यस्तै नेकपा (एमाले) का उम्मेदवार विनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गर्नुभएको छ । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले ३ हजार ४०० मत पाउनुभएको छ।
निर्वाचनको आधिकारिक परिणाम घोषणा भएसँगै रास्वपाले विजय उत्सवका रूपमा गरिने अबिर जात्रा वा र्याली नगर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय निर्देशनअनुसार तडकभडकपूर्ण कार्यक्रम नगरी जनताले दिएको म्यान्डेटलाई काममार्फत जवाफ दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
रास्वपाले यो जितलाई नयाँ पुस्ता तथा युवाहरूको विश्वास र समर्थनको परिणामका रूपमा लिएको छ। पार्टीका अनुसार कलिला पुस्ताको भरोसाबाट प्राप्त म्यान्डेटलाई सम्मान गर्दै उत्सवभन्दा पनि जिम्मेवारीलाई प्राथमिकता दिने नीति अपनाइएको हो।
नवनिर्वाचित सांसद रुबिना आचार्यले विजय र्याली आयोजना गर्नुको सट्टा मतदाताको घर–आँगनमा पुगेर धन्यवाद ज्ञापन गर्ने कार्यक्रम तय गर्नुभएको छ। रास्वपाले यस कदमलाई नेपाली राजनीतिमा काममुखी संस्कृतिको सुरुवातका रूपमा व्याख्या गरेको छ। – मणिराम दाहाल





