सुन्दरहरैँचा/ मोरङको सुन्दरहरैंचा नगरपालिका–६ मा अवस्थित पूर्वाञ्चल एकेडेमीले आफ्नो १८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध शैक्षिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा शैक्षिक सत्र २०८२ को परीक्षाफल प्रकाशन, पुरस्कार वितरण, सम्मान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा विविध सांस्कृतिक प्रस्तुतिहरू आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष सन्तोष लिङदेनको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल दिपेन राई, अभिभावक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका इन्चार्ज माधव ढकालले गरेका थिए।

# स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम

कार्यक्रमको पहिलो दिन नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। उक्त शिविरबाट विद्यार्थी ,अभिभावक तथा स्थानीयवासी लगायतले स्वास्थ्य जाँच सेवा प्राप्त गरेका थिए। साथै आयोजित रक्तदान कार्यक्रममा ४५ पिन्ट रगत सङ्कलन भएको तथा करिब १५ सयभन्दा बढीले स्वास्थ्य सेवा लिएको विद्यालयले जानकारी दिएको छ।

# परीक्षाफल सार्वजनिक तथा पुरस्कार वितरण

दोस्रो दिन नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूको वार्षिक परीक्षाफल सार्वजनिक गरिएको थियो। उत्कृष्ट नतिजा हासिल गर्दै जीपीए ४ प्राप्त गर्ने तथा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
विद्यार्थीहरूले शैक्षिक विज्ञान प्रदर्शनीमार्फत आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गरेका थिए, जसले अभिभावक तथा अतिथिहरूको विशेष ध्यान आकर्षित गरेको थियो। कार्यक्रममा लक्की–ड्र मार्फत अभिभावकहरूलाई पुरस्कार वितरण गरिएको थियो भने ज्येष्ठ नागरिक अभिभावकहरूलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित विशेष सम्मान गरिएको थियो। साथै “हजुरबुबा–हजुरआमा संग नाति–नातिनी” कार्यक्रमले पारिवारिक सम्बन्धको महत्व झल्काएको थियो।

# विद्यालयको प्रतिबद्धता र सम्मान कार्यक्रम

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बलबहादुर खरेलले विद्यालयको १८ वर्षे यात्राका उपलब्धिहरू उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रमुख अतिथि वडा अध्यक्ष लिङदेनले विद्यालयले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे।
प्रिन्सिपल दिपेन राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक प्रगति, अतिरिक्त क्रियाकलाप तथा भावी योजनाबारे जानकारी गराएका थिए। कार्यक्रममा शिक्षा तथा समाजसेवामा योगदान पुर्‍याउने गेहनाथ दाहाल, उदय फुयाल, असिक तामाङ, पुरन चौधरी र राजेन्द्र राईलाई सम्मान गरिएको थियो। साथै पूर्व विद्यार्थी सविन दाहाललाई विशेष सम्मान प्रदान गरिएको थियो।

# सांस्कृतिक प्रस्तुति आकर्षणको केन्द्र

सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले ‘आँशुको मूल्य’ शीर्षकको भावनात्मक नाटक प्रस्तुत गरेका थिए, जसले दर्शकलाई गहिरो सन्देश दिएको थियो। विभिन्न गीतहरूमा विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। नृत्य प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। मनोरञ्जनतर्फ पूर्व विद्यार्थी कलाकार प्रेम घिमिरे तथा राष्ट्रिय कलाकार किरण भुजेलको सांगीतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ। – मणिराम दाहाल

तपाईको प्रतिक्रिया