सुन्दरहरैँचा / मोरङ मोरङको सुन्दरहरैँचामा “सुन्दरहरैँचा T20 कप क्रिकेट प्रतियोगिता” आयोजना हुने भएको छ।
इन्द्रपुर क्रिकेट क्लब, सुन्दरहरैँचा–१२ को आयोजनामा प्रतियोगिता वैशाख ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिता वडा नम्बर ८, सलकपुरस्थित खेलमैदानमा सञ्चालन गरिनेछ। स्थानीय स्तरमा क्रिकेट खेलको विकास तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
यसपटक प्रतियोगितामा नगरका विभिन्न स्थानलाई चिनाउने गरी टिमहरूको नामाकरण गरिएको छ। सहभागी टोलीहरूमा भुल्के वारियर्स (कप्तान: ज्ञातव्य सुवेदी), विराट वारियर्स (अनिस श्रेष्ठ), गछिया टाइगर्स (आयुष ढुङ्गेल), पाथिभरा टाइटन्स (अनिल आचार्य), रोयल हरैँचा (प्रमोद कार्की) र त्रिवेणी टाइगर्स (प्रदीप दास) रहेका छन्। यी ६ टोलीबीच प्रतिस्पर्धात्मक खेल हुने आयोजकले जनाएको छ।
प्रतियोगिता अन्तर्गत पहिलो खेल बिहान ८ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजेदेखि सञ्चालन गरिने क्लबका उपाध्यक्ष होमबहादुर पौडेलले जानकारी दिए । प्रतियोगितामार्फत खेल प्रतिभा पहिचान, युवा खेलाडीहरूको क्षमता अभिवृद्धि तथा स्थानीय स्तरमा खेल संस्कृतिको विकासमा टेवा पुग्ने वडा नम्बर १२ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालले बताए । साथै उनले नगरपालिका तथा वडा कार्यालयबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगिताको संयोजन वडा नम्बर १२ कार्यालयले गरेको छ भने मुख्य सहयोगी संस्थाका रूपमा नगर खेलकुद विकास समिति, सुन्दरहरैँचा रहेको छ। प्रतियोगिता ड्युज बलका आधारमा खेलाइनेछ र समूह ‘ए’ र ‘बी’ मा विभाजन गरिएको छ। प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै विभिन्न विधागत पुरस्कारहरूको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।
नगरभित्रका खेलाडी उत्पादन गर्ने उद्देश्यले खुलाइएको अनलाइन आवेदनमा १ सय १७ जनाले दर्ता गराएका थिए । छानोट प्रक्रियाबाट ९० जना खेलाडी छनोट भएका छन्। सबै टोलीमा उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेकाले प्रतियोगिता अहिलेसम्मकै उत्कृष्ट हुने आयोजकको दाबी छ।





