– मणिराम दाहाल

राजनीतिमा नारा, भीड र भाषण धेरै सुनिन्छन्। चुनावको समयमा सडक, चोक, गल्ली र सामाजिक सञ्जाल नाराले भरिन्छन्। तर इतिहासले बारम्बार प्रमाणित गरेको एउटा सत्य छ—राजनीतिमा नारा भन्दा भरोसा ठूलो हुन्छ, भींड भन्दा विश्वास ठूलो हुन्छ।

जनता कहिल्यै पनि सधैं बोलिरहँदैनन्। उनीहरू धेरै समय चुपचाप हेरिरहेका हुन्छन्, सुन्दै हुन्छन् र मूल्याङ्कन गर्दै हुन्छन्। यही धैर्यता कतिपय नेताहरूले कमजोरी ठान्ने गल्ती गर्छन्। तर जनताको धैर्यता कमजोरी होइन, त्यो त आँधी आउनुअघि देखिने शान्त आकाश जस्तै हो। जब त्यो धैर्यताको सीमा नाघ्छ, तब त्यही जनता परिवर्तनको आँधी बनेर उठ्छन्, र धेरै शक्तिशाली देखिएका सिंहासनहरू पनि एकैछिनमा चौतारोमा परिणत हुन समय लाग्दैन।

राजनीति वास्तवमा कुर्सीको खेल होइन। राजनीति भनेको जनताको मन जित्ने कला हो—विश्वास जित्ने कला हो। कुर्सी त परिणाम मात्र हो; असली शक्ति जनताको मनमा बस्न सक्नु हो। जनताको विश्वास जित्न सके कुर्सी स्वतः टिक्छ, तर विश्वास गुम्यो भने सबैभन्दा बलियो कुर्सी पनि अस्थायी मात्र हुन्छ।

आजको राजनीतिक परिवेशमा जनताले नयाँ आशा र अपेक्षाका साथ केही शक्तिहरूलाई अवसर दिएका छन्। यो अवसर केवल जितको उत्सव होइन, जिम्मेवारीको सुरुवात हो। जनताले तपाईंहरूको घाँटीमा घण्टी झुण्ड्याइदिएका छन्—यो सम्मान पनि हो र सम्झना पनि। बधाई छ (रास्वपा)।

तर अब शब्दभन्दा काम ठूलो देखिनु आवश्यक छ। जनताको विश्वास जित्नु सजिलो होइन, र त्यसलाई जोगाइराख्नु झन् कठिन काम हो। पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी कामले मात्र त्यो विश्वास टिकाइराख्न सक्छ।

किनभने जनताको स्मरण शक्ति कमजोर हुँदैन। उनीहरूले अवसर पनि दिन्छन्, तर मूल्याङ्कन पनि गर्छन्। यदि आशा अनुसार काम भएन भने सम्झनुहोस्—त्यही घण्टी, जुन आज सम्मानका साथ तपाईंहरूको घाँटीमा झुण्ड्याइएको छ, त्यही घण्टी जनताले फेरि तपाईंहरूकै टाउकोमा बजाउन पनि बेर लगाउने छैनन्।अन्ततः लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति जनता नै हुन्। जनता नै मालिक हुन्, र राजनीतिज्ञहरू केवल जनसेवक मात्र।

तपाईको प्रतिक्रिया