सुन्दरहरैंचा / पूर्वेली लोकसंगीतको मिठास बोकेर उदाउँदै गरेका प्रतिभाशाली नवगायक दिलिप लिम्बुले आफ्नो सांगीतिक यात्रामा महत्वपूर्ण सुरुवात गर्दै एकै साथ दुई गीतका म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

मोरङको केराबारीमा जन्मिएर हाल सुन्दरहरैंचा–गोठगाउँमा बसोबास गर्दै आएका लिम्बुले “लैजाउला हङकङ सहरमा” र “मुलघाटैको पुलमा” बोलका गीतमार्फत दर्शक–श्रोतामाझ आफ्नो पहिचान स्थापित गर्ने प्रयास गरेका हुन्।

नवप्रवेशी भए पनि संगीतप्रतिको गहिरो लगाव, निरन्तर मेहनत र आत्मविश्वासले भरिएका लिम्बुले प्रस्तुत गरेका यी गीतहरूमा पूर्वेली लोकसंस्कृतिको सुगन्ध पाइन्छ। दुवै गीतमा चर्चित गायिका सुनिता थेगिमको सुमधुर स्वरले अझ आकर्षण थपेको छ।

“लैजाउला हङकङ सहरमा” गीतमा साधना कुलुङ राईको शब्द र रुद्र श्रेष्ठको संगीत रहेको छ भने भिडियोमा दिलिप लिम्बु र पवित्र तिलिङ मादेन लिम्बूको जीवन्त अभिनय देख्न सकिन्छ। त्यस्तै “मुलघाटैको पुलमा” गीतमा गजेन्द्र राईको शब्द र कृष्ण भक्त राईको संगीत संयोजन रहेको छ, जसको भिडियोमा पनि उही कलाकारहरूको सशक्त प्रस्तुति रहेको छ।

गीतहरूको छायांकन पूर्वका सुन्दर तथा सांस्कृतिक महत्त्व बोकेका स्थानहरू—तेह्रथुमको तीनजुरे, धरानको श्रम संस्कृति पार्क र मोरङकै केराबारीमा गरिएको छ, जसले भिडियोहरूलाई अझ आकर्षक र जीवन्त बनाएको छ।

दुवै गीतमध्ये एउटा दिलिप लिम्बुको आफ्नै युट्युब च्यानेलमार्फत र अर्को राम कैलास थापाको युट्युब च्यानेलबाट सार्वजनिक गरिएको हो। गायक लिम्बुले आफ्नो अनुभव साझा गर्दै भने, “यो मेरो लागि सपना साकार हुने सुरुवात हो। दर्शक–श्रोताबाट माया, साथ र सुझावको अपेक्षा गरेको छु।”

उनको यो प्रयास केवल दुई गीत सार्वजनिक गर्नुमा सीमित नभई पूर्वेली लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनतर्फ पनि महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको छ। सीमित अवसरका बीच ठूलो सपना बोकेर अघि बढिरहेका दिलिप लिम्बुको यो कदम धेरै नवप्रतिभाहरूका लागि प्रेरणादायी बन्न सक्ने देखिन्छ।

तपाईको प्रतिक्रिया