• सिजन श्रेष्ठ

तिमीले भुल्यौ होला
यस्तो थियो त्यो एक दिन

सबैलाई सबैथोक बन्ने छुट थियो

पहिला–
आकाश भएँ म ।

पहाड भएँ त्यसपछि
र, खेलेँ जङ्गलमा रूखहरूसँग लुकामारी ।

नदी भएर बगेँ
निकै पर…सम्म
र, छोएँ अलिकति तिम्रो पैतालालाई ।

तैरिएँ आकाशमा
इन्द्रेणी बनेर ।
इन्द्रेणी भएको ‘म’लाई
तुरुन्तै खिच्यौ तिमीले
बिजुली बनेर ।

कति चाँडो चाँडो
कछुवा भएँ म
भएँ माछा
घाम भएँ
भएँ पानी…

भएँ मरुभूमि
र, उजाडिएँ म ।

आगो भएर फेरि
माथि… निकै माथिसम्म… पुगेँ
र, जलाएँ बादललाई ।

संसारमा भएका/नभएका
सजीव/निर्जीव
दृश्य/अदृश्य
मूर्त/अमूर्त
सबैथोक भएँ म
एकैछिनमा ।

कति कोसिस गरेँ मैले
चाहेर पनि ‘तिमी’ बन्नै सकिन तर म…..

तिमी बन्न नसकेर
एकसाथ तिमीले कुल्चिने माटो र तिमी हिँड्ने बाटाहरू
भएको छु म आज ।

साँच्चै,
भुल्यौ होला तिमीले त्यो एक दिन…..

सुन्दरहरैँचा ,माेरङ

तपाईको प्रतिक्रिया