– छवि वैरागी घिमिरे
उहिले उहिले
पहिलो बर्सातका थोपाहरू
धर्तीको काँधमा तप्किँदा
आकाशले एउटा गीत जन्माएको थियो ।
त्यो गीतको स्वर
धानको बिरुवाले सास फेरेझैँ
माटोको कोखमा पसिनाको गन्धसँग बग्थ्यो
गोठभित्रका बाख्रापाठाका स्वरमा मिसिन्थ्यो
पिँडीमा आमाले पिस्दै गरेको जाँतोसितै घुमिरहन्थ्यो
गाउँका चौतारीमा बुढापाकाका सल्लाहसँगै
वसन्तको हावामा उड्थ्यो ।
त्यस गीतलाई
सयौँ पटक अग्निले जलाउन खोज्यो
तर ज्वालामाथि नै फूल फुल्यो
जसरी तुफानपछिको बिहानमा
पहाडको टाकुराबाट
हाँसो फ्याँक्ने घाम उफ्रन्छ
त्यसैगरी
सयौँ पटक हातहतियारले छेड्दा पनि
छेडिएको प्वालबाट फेरि नयाँ स्वर उफ्रियो ।
कति मानिसले
गाउँका छानाहरू खरानी बनाए
अङ्गालो हाल्ने हातहरूले
रगतका धाराहरूमा होली खेले
बोल्ने जिब्रोहरू थुतेर
आवाजलाई आजीवन काराबास दिए
तर अझै पनि त्यो गीत
गहुँको हिउँदे बालीभित्र सुतिरहेछ
आँसुको नमीमा तप्किरहेछ
र पर्खाइको आँचलमा म्लान भएर पनि
फूलको बिउजस्तै बाँचिरहेछ ।
उहिले उहिलेको गीत
सिर्जनाको पहिलो स्वर हो
मानिसको मुखले मात्र होइन
पानीको बहावले गाएको
हावाको पखेटाले उडाएको
चन्द्रमाको ओझले अँगालेको
त्यो स्वर हिउँको चुलीमा सुनिएको पहिलो हाँसो जस्तो
र समुद्रको छालभित्र लुकेको अन्तिम सम्झना जस्तो हो ।
आश्चर्य लाग्छ अहिले मानिसहरू
भाषा मेट्न सक्छौँ भन्छन्
संस्कृति तोड्न सक्छौँ भन्छन्
सपना चोर्न सक्छौँ भन्छन्
तर के तिमीहरू
बालकको निद्राका लागि गाइने लोरी मेट्न सक्छौ ?
के तिमीहरू
पहाडको टाकुराबाट उक्लिने हावाको ताल रोक्न सक्छौ ?
के तिमीहरू
धान रोप्दा बुढीआमाको मुखबाट निस्किने
असारे भाकालाई चुप पार्न सक्छौ ?
बरु बुझ ए ! सज्जनहरू हो !
उहिले उहिलेको गीतलाई मेटाउन
पृथ्वीको गन्ध मेटाउनु पर्छ
पानीको स्वाद बदल्न सक्नु पर्छ
गरिब पसिनाको सुगन्ध मेटाउनु पर्छ
आकाशको रङ फेर्न सक्नु पर्छ
र त्यो मेटाउन सक्ने शक्ति
कुनै आकाशसित त छैन भने तिमीसित छ ?
किनकि
उहिले उहिलेको गीत
मृत्युको मुखबाट फर्केर आउने ब्यूँझिएको स्वर हो
जसलाई समयले होइन स्मृतिले जीवित राखेको छ
त्यही स्मृतिले प्रत्येक बर्सातका थोपामा फेरि जन्म लिन्छ ।
– सुन्दरहरैँचा (मोरङ)





