सुन्दरहरैँचा / आज नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको पाँचौँ तथा अन्तिम दिन भाइटीका हर्षोल्लासका साथ मनाइँदैछ।
दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने र मखमली फूलको माला पहिर्याएर आशीर्वाद दिने परम्परा रहेको छ। भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे रहेको छ। यस दिन दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता, प्रेम, विश्वास तथा सद्भावलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ। टीका, माला, उपहार तथा मिठाई आदानप्रदान गर्दै भाइटीका मनाउने चलन छ।
भाइटीका केवल धार्मिक तथा सांस्कृतिक पर्व मात्र नभई दाजुभाइ रदिदीबहिनी बीचको पवित्र सम्बन्ध, माया, स्नेह र पारिवारिक एकताको प्रतीक पनि हो। यस पर्वले नेपाली समाजमा आपसी सद्भाव, प्रेम र आत्मीयताको सन्देश प्रवाह गर्दै आएको छ।
धार्मिक मान्यताअनुसार, भाइटीकाका दिन यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणामा उनको घर पुगेका थिए। यमुनाले दाजु यमराजलाई सप्तरङ्गी टीका, मखमली माला तथा पूजा गरी सत्कार गरेकी थिइन्। बहिनीको प्रेम र सत्कारबाट प्रसन्न यमराजले उनलाई वरदान दिएका थिए। यही पौराणिक प्रसङ्गसँग जोडेर भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र सुखसमृद्धिको कामना गर्दै टीका लगाइदिने परम्परा सुरु भएको धार्मिक विश्वास रहेको छ। यस दिन यमराजको पूजा गर्दा दाजुभाइको आयु वृद्धि हुने तथा अकाल मृत्युबाट रक्षा हुने जनविश्वाससमेत रहेको छ।
यस पावन अवसरमा सबै चेली–माइतीको सम्बन्ध मखमली फूलझैँ दीर्घकालीन, सुमधुर र प्रगाढ बनोस्। सबैको जीवन सप्तरङ्गी टीकाझैँ सुन्दर, सुखमय र उज्यालो बनोस्। देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा भाइटीकाको हार्दिक मंगलमय शुभकामना!





