कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि चारदिने छठ पर्व सुरु भएको छ।
सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वसँगै महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेकाे छ। आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीमा स्थानीयवासी जुटेका छन्। घरघरमा छठका भक्तिगीत गुञ्जिरहेका छन् भने नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण, सरसफाइ र सजावट भइरहेको छ।
विशेषगरी युवा छठघाट निर्माण तथा सजावटमा सक्रिय छन्। घरका भित्ता लिपपोत र रङरोगन गरेर सजाइँदै छन्। सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन्। स्थानीयवासी आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारीमा जुटेका छन्।
छठको तयारीसँगै स्थानीयको दैनिकी पनि पर्वकेन्द्रित बनेको छ। भेटघाट र कुराकानीदेखि घरायसी कामकाजसम्म छठकै तयारीमा केन्द्रित हुन थालेको बर्दिबास–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताए।
मिथिला क्षेत्रका बजारमा पूजासामग्री किन्नेको भीड बढेको छ। केराका घरीसहित पर्वमा आवश्यक सामग्रीको बिक्री बढिरहेको छ। स्थानीय किसानले पूजामा प्रयोग हुने उखुका लाँक्रा, अदुवा र बेसारका बोट, ज्यामिरलगायत सामग्री बजारमा ल्याउने तयारी गरिरहेका छन्। यस्ता सामग्रीको मुख्य बिक्री शनिबार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताए।
•
पूजासामग्री राख्न प्रयोग गरिने बाँसका ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री पनि बढेको छ। त्यसैगरी दियो, दही जमाउने छ्याँची, पूजासामग्री राख्ने टौला, पानी राख्ने अङ्खरा र गाग्रीलगायत माटाका भाँडाको माग बढेको छ। छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्परा छ।
घरघरमा ठकुवा र भुसुवालगायत प्रसाद तयार गर्ने चटारो छ। चामल र गहुँ ढिकी तथा जाँतोमा कुटेर र पिँधेर पिठो तयार गर्ने परम्परा अझै कायम छ। शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने भएकाले परिवारका सदस्यको सहयोगमा प्रसाद तयार गरिन्छ। भङ्गाहा–४ रामनगरकी ५५ वर्षीया शान्तिदेवी साहले छठको तयारीमा निष्ठा सबैभन्दा महत्त्वपूर्ण हुने बताइन्।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको पहिलो दिन ‘नहाय–खाय’ विधि गरिन्छ। दोस्रो दिन ‘खरना’ गरिन्छ भने तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ।
दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात आजदेखि छठ पर्व सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन यो पर्व मनाइन्छ । छठमा पुराना मनमुटाव बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्ने परम्परा छ। छठघाटमा जातीय तथा सामुदायिक भेदभावबिना एकै लहरमा बसेर पूजा गरिन्छ। सूर्यदेव र षष्ठीदेवीको उपासनाबाट सुख, शान्ति, सुस्वास्थ्य र कल्याण प्राप्त हुने जनविश्वास छ।





