माेरङ / विराटनगरमा जारी ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज (आइतबार) दोस्रो दिनको खेलमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
विराटनगरस्थित शहीद रङ्गशालामा हुने यो रात्रिकालीन खेल साँझ ६ बजे सुरु हुने आयोजकले जनाएका छन् । आजको खेल निकै रोचक हुने अपेक्षा गरिएको छ, किनकि मैदानमा एकातर्फ ‘ए’ डिभिजनको चर्च ब्वाइज हुनेछ भने अर्कातर्फ विराट गोल्डकपको पूर्वविजेता एपीएफ रहनेछ ।
एपीएफ क्लबले २०७८ सालमा सम्पन्न विराट गोल्डकपको उपाधि जितेको थियो । त्यतिबेला फाइनल भिडन्तमा भारतीय टोली पन्जाब पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफले ऐतिहासिक सफलता चुमेको थियो । सोही लयलाई कायम राख्दै एपीएफ पुन : उपाधि यात्रा तय गर्ने लक्ष्यमा छ भने चर्च ब्वाइज पहिलो खेलमै बलियो प्रतिद्वन्द्वीलाई पन्छाउने दाउमा छ ।
हिजो शनिबार भएको उद्घाटन खेलमा झापा–११ ले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।
वैशाख ५ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ तथा उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र गोलकर्तालाई जनही १५–१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने विराट गोल्डकप ट्रष्टले जनाएको छ ।





