सुन्दरहरैँचा / चौथो सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिता २०८२ को उपाधि इटहरी उपमहानगरपालिकाले जितेको छ।

सुन्दरहरैँचा नगरपालिकामा सम्पन्न फाइनल खेलमा इटहरीले केराबारी गाउँपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो। रोमाञ्चक फाइनल खेलमा इटहरीका निश्चलकुमार श्रेष्ठ र असिम राईले एक–एक गोल गरे। केराबारीका नगेन राईले सान्त्वना गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। उत्कृष्ट प्रदर्शन गरेका इटहरीका निश्चलकुमार श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भए।

उपाधिसँगै इटहरी उपमहानगरपालिकाले ट्रफी, मेडलसहित नगद ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता केराबारी गाउँपालिकाले ट्रफी, मेडलसहित नगद २ लाख रुपैयाँमा चित्त बुझाएको छ।
प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी, नगर प्रमुख केदारप्रसाद गुरागाईं, नगर प्रवक्ता रोशनप्रसाद ढकाल लगायतले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए।

आयोजक नगर खेलकुद विकास समितिका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई विभिन्न विधाअन्तर्गत व्यक्तिगत पुरस्कारसमेत प्रदान गरिएको थियो। चौथो संस्करणको मेयर गोल्डकप सफलतापूर्वक सम्पन्न भएसँगै सुन्दरहरैँचामा स्थानीय तहबीचको खेलकुद प्रतिस्पर्धाले थप उत्साह र खेल संस्कृतिको विकासमा टेवा पुर्‍याएको आयोजकको विश्वास रहेको छ।

तपाईको प्रतिक्रिया