सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा–५ स्थित सफल सिद्धार्थ एकेडेमीमा ३२औं अभिभावक दिवस तथा वार्षिकोत्सव अत्यन्तै भव्य, उत्साहपूर्ण र भावनात्मक वातावरणमा सम्पन्न भएको छ।
विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा पूर्व प्राथमिक तहका नानीबाबुहरूको दीक्षान्त समारोह विशेष आकर्षणको केन्द्र बनेको थियो।
स-साना विद्यार्थीहरूलाई दीक्षित गरिँदै गर्दा अभिभावकहरू भावुक बनेका थिए भने उनीहरूको अनुहारमा गर्व र खुशी झल्किएको देखिन्थ्यो। यसैगरी, वार्षिक परीक्षाको नतिजा प्रकाशन, उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण तथा विभिन्न विधामा सम्मान कार्यक्रम समेत सम्पन्न गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूलाई अनुशासन, मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गरिन् ।
विशेष अतिथि प्याब्सन नगर अध्यक्ष दीपक क्षेत्रीले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्र निर्माणमा खेलेको भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिइन ।
विद्यालयका अध्यक्ष लेखुप्रसाद ढकालले संस्थाको विगतदेखि वर्तमानसम्मको यात्राबारे प्रकाश पार्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा विद्यालय सञ्चालक गोविन्द कार्कीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन र समग्र व्यक्तित्व विकासमा संस्था निरन्तर लागिपर्ने बताउँदै अभिभावकहरूको साथ, विश्वास र सहयोग नै विद्यालयको सफलताको मूल आधार भएको उल्लेख गरे ।
कार्यक्रमका क्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी, शिक्षक तथा ‘स्कुल आइडल’ हरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा छात्रवृत्ति प्रदान गरिएको थियो। साथै समाजमा योगदान पुर्याएका जेष्ठ नागरिकहरूलाई विशेष सम्मान गर्दै कार्यक्रममा थप गरिमा प्रदान गरिएको थियो।
यसैबीच, विद्यालयका प्रिन्सिपल राजन लम्सालले मन्तव्य व्यक्त गर्दै विद्यालय केवल शैक्षिक उपलब्धिमात्र नभई संस्कार, अनुशासन र जीवनोपयोगी सीप सिकाउने थलो भएको बताए ।
उनले भने , “हामी यहाँ पुस्तकका अक्षरहरू मात्र पढाउँदैनौं, जीवन पढ्न सिकाउँछौं। हाम्रा विद्यार्थीहरू भविष्यका सक्षम, जिम्मेवार र संवेदनशील नागरिक बन्ने दिशामा हामी निरन्तर प्रयत्नशील छौं।”
उनले अभिभावकहरूप्रति कृतज्ञता व्यक्त गर्दै भने , “तपाईंहरूको विश्वास र साथबिना हाम्रो प्रयास अधुरो रहन्थ्यो। विद्यालय र अभिभावकबीचको सहकार्यले मात्र विद्यार्थीको समग्र विकास सम्भव हुन्छ।”
साथै, उनले विद्यार्थीहरूलाई समयको मूल्य बुझ्न, अनुशासनमा रहन र लक्ष्यप्रति दृढ रहन आग्रह गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रम सांस्कृतिक प्रस्तुति, नृत्य, गीत तथा विभिन्न रचनात्मक गतिविधिहरूसँगै अत्यन्तै रोचक र स्मरणीय बनेको थियो। सहभागी सबैले विद्यालयको व्यवस्थापन, प्रस्तुति र वातावरणको खुलेर प्रशंसा गरेका थिए। यसरी सम्पन्न भएको ३२औं वार्षिकोत्सवले विद्यालयको शैक्षिक उत्कृष्टता, सांस्कृतिक समृद्धि र सामुदायिक एकताको सशक्त सन्देश प्रवाह गरेको छ।





