सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकामा शनिबारदेखि सुरु भएको पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मिल्स भेट्रान विराटनगर विजयी भएको छ।

सुनसरीको भरौल भेट्रानसँग भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। खेलको सुरुआतदेखि नै दुवै टोलीले आक्रामक प्रदर्शन गरेका थिए। दोस्रो हाफमा भने मिल्स भेट्रानले उत्कृष्ट खेल प्रदर्शन गर्दै थप गोल गर्न सफल भयो। मिल्स भेट्रान विराटनगरले भरौल भेट्रान सुनसरीलाई ४–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो। मिल्स भेट्रानका तेजमान लिम्बूले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे। उत्कृष्ट प्रदर्शनका लागि उनलाई ‘म्यान अफ दि म्याच’ घोषित गरिएको थियो।

सुन्दरहरैँचा–१० स्थित सुकुना खेलमैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले गरेका थिए। कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, वडा अध्यक्ष रोशनप्रसाद ढकाल, प्रकाश श्रेष्ठ तथा पूर्व राष्ट्रिय खेलाडी देवनारायण चौधरीलगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताको मुख्य प्रायोजक PLO लुब्रिकेन्ट्स रहेको छ भने सुन्दरहरैँचा नगरपालिकाले प्रवर्द्धन गरेको छ। क्लबका अध्यक्ष राजन योन्जनले खेलमैदान व्यवस्थापन, खेलाडीलाई हौसला प्रदान गर्ने तथा समग्र खेलकुद क्षेत्रलाई सक्रिय बनाउन प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।
प्रतियोगिता अन्तर्गत आइतबार दार्जिलिङ भेट्रान र काँकडभिट्टा भेट्रानबीच खेल हुने आयोजकले जनाएको छ। प्रतियोगितामा कुल आठ टोली सहभागी रहेका छन्।

तपाईको प्रतिक्रिया