सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचास्थित विराट भेट्रान क्लबको आयोजनामा पाँचौँ अन्तर्राष्ट्रिय भेट्रान गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
आयोजकले सिद्धेश्वर मन्दिरको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता चैत २१ गतेदेखि २८ गतेसम्म सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना खेलमैदानमा सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगितामा आयोजक विराट भेट्रान क्लब (सुन्दरहरैँचा) सहित काँकडभिट्टा भेट्रान (झापा), दुधे भेट्रान (झापा), हाम्रो धरान भेट्रान (सुनसरी), भराैल भेट्रान (सुनसरी), दार्जिलिङ भेट्रान (भारत), पथरी भेट्रान (मोरङ) र मिल्स भेट्रान (मोरङ) गरी कुल आठ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष राजन योञ्जनले जानकारी दिए।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त उल्लेख गरिएको छ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता लगायत विभिन्न विधागत पुरस्कारहरू समेत प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले खेलकुद क्षेत्रको विकास तथा सुन्दरहरैँचा क्षेत्रको पहिचान प्रवर्द्धनमा यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने बताए। प्रतियोगिताका लागि नगरपालिकाले दुई लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने उनले जानकारी दिए।
खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै सालिको इन्स्योरेन्समार्फत प्रत्येक खेलाडीको एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा क्लबका पूर्व अध्यक्ष दीपक भण्डारी, पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा क्लबका सदस्य परशुराम खतिवडाले स्वागत मन्तव्य राखेका थिए। प्रतियोगिताको मुख्य प्रायोजक पूर्वाञ्चल ल्युब आयल प्रालि (PIO) रहेको आयोजकले जनाएको छ।





