सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिका–१२ स्थित इन्द्रपुर नमुना माध्यमिक विद्यालयको २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।
सुन्दरहरैंचा–१० मा रहेको पानस पार्टी प्यालेसमा आयोजित कार्यक्रममा “नमुना डान्सिङ एन्ड सिङ्गिङ आइडल–२०८२” अन्तर्गत छनोट प्रतियोगिता, शैक्षिक प्रदर्शनी तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, नाटक लगायतका सिर्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। साथै शैक्षिक प्रदर्शनीमार्फत विज्ञान, प्रविधि तथा अन्य विषयसँग सम्बन्धित विभिन्न प्रोजेक्टहरू प्रदर्शन गरिएको थियो, जसले अभिभावक तथा अतिथिहरूको ध्यान आकर्षित गरेको विद्यालयले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका शिक्षा शाखा प्रमुख तेज आचार्य रहेका थिए । विद्यालयका प्रिन्सिपल उत्सव थापाले वार्षिकोत्सवको उद्देश्य विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा उजागर गर्नुका साथै अभिभावक र विद्यालयबीचको सम्बन्ध सुदृढ बनाउनु रहेको बताए।
कार्यक्रमको औपचारिक सत्र अन्तर्गत आसन ग्रहण, उद्घाटन, स्वागत मन्तव्य विना आचार्य द्वारा प्रस्तुत गरिएको थियो । विद्यार्थीहरूले स्वागत गान समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा नृत्य तथा गायन प्रतियोगिता, नाटक प्रदर्शन, निबन्ध लेखन , भाग्यशाली अभिभावक छनोट, विद्यार्थी पुरस्कार वितरण, शिक्षक नृत्य, शिक्षक सम्मान, प्रतिनिधि विद्यार्थी सम्मान तथा स्वयंसेवक सम्मान जस्ता विविध कार्यक्रमहरू सञ्चालन गरिएको थियो।
अन्त्यमा नृत्य तथा गायन प्रतियोगिताका विजेताहरूको घोषणा गर्दै कार्यक्रम विधिवत रूपमा समापन गरिएको थियो। कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





