सुन्दरहरैंचा / मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिकाको १७ औँ नगरसभा विभिन्न ६ वटा महत्वपूर्ण प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै सम्पन्न भएको छ।
नगरप्रमुख केदारप्रसाद गुरागाईँको अध्यक्षतामा वडा नं. ४ स्थित गोदावरी रिसोर्टमा आयोजित सभाले नीति, योजना तथा विधायनसँग सम्बन्धित विषयहरूमा निर्णय गरेको हो। नगर उपप्रमुख अकली चौधरीले सभामा दुई वटा विधेयक प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा नगरपालिकाले गरेका विकास निर्माण तथा कार्यक्रमहरूको प्रगति विवरण पनि पेश गर्नुभयो। उहाँले “सुन्दरहरैंचा नगरपालिकाको आर्थिक ऐन, २०८२ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८२” र “विनियोजन ऐन, २०८२ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८२” सभामा पेश गर्नुभएको थियो।
त्यसैगरी, विधायन समितिका संयोजक तथा वडा नं. ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेले तीन वटा विधेयक प्रस्तुत गर्नुभयो। तीमध्ये “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक, २०८२”, “जलस्रोत उपयोग तथा व्यवस्थापन सम्बन्धी विधेयक, २०८२” र “न्यायिक समितिको फैसला तथा मिलापत्र कार्यान्वयन ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८२” रहेका छन्।
सभाध्यक्ष गुरागाईँले प्रस्तुत सबै पाँच वटा विधेयक निर्णयार्थ पेश गर्नुभएकोमा ती सर्वसम्मत रूपमा पारित भएका थिए। सभाको शून्य समयमा दुई जना सदस्यले उठाएका जिज्ञासा तथा धारणा सम्बन्धी प्रश्नहरूको जवाफ पनि सभाध्यक्षले दिनुभएको थियो।
यसैबीच, छैटौँ तथा विशेष प्रस्तावका रूपमा नगरप्रमुख गुरागाईँले “जेनजी आन्दोलन”का क्रममा भएको क्षतिको अभिलेखीकरण राख्ने प्रस्ताव पेश गर्नुभएको थियो। उक्त प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित भएको छ। नगरसभाबाट पारित भएका प्रस्तावहरूले सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक, आर्थिक तथा कानुनी व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।





