सुन्दरहरैँचा / लभ्ली एन्जल्स् इङ्लिस बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ ।
सुन्दरहरैँचा नगरपालिका–२, मृगौलियास्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै नगरको शैक्षिक विकासमा पुर्याएको योगदानको प्रशंसा गरे। साथै, शिक्षा क्षेत्रलाई अझ प्रभावकारी बनाउन स्थानीय तह सधैं सहकार्यका लागि तयार रहेको बताए। सोही अवसरमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै योगदान पुर्याउँदै आएका सञ्चारकर्मी मणिराम दाहाललाई नगद पुरस्कार, दोसल्ला तथा सम्मानपत्र सहित विशेष सम्मान गरिएको थियो। नगरप्रमुख गुरागाईंको बाहुलीबाट उनलाई सम्मान प्रदान गरिएको थियाे ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। साथै, अभिभावक चिठ्ठा कार्यक्रम समेत आकर्षणको केन्द्र बनेको थियो। विद्यार्थीहरूले नृत्य, गायन, तेक्वान्दो, नाटक तथा खेलकौशल प्रस्तुत गर्दै मनमोहक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। विद्यालयका प्रिन्सिपल मजोज रेग्मीका अनुसार कार्यक्रममा विद्यार्थीहरूले निर्माण गरेका विज्ञान, सामाजिक तथा वातावरण सम्बन्धी चित्रहरूको प्रदर्शनी समेत गरिएको थियो, जसले सहभागीहरूको ध्यान खिचेको थियो।
कार्यक्रममा हास्य कलाकार तथा गायक बाेकेदारीले रमाइला गीत–संगीत प्रस्तुत गरी उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए। यस अवसरमा शिक्षक तथा कर्मचारी दीक्षा ढुङ्गाना र शम्भुप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो। शिक्षासेवी अर्जुन वस्नेत लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विद्यालय सञ्चालक समिति अध्यक्ष उर्मिला थापा बस्नेतको सभापतित्व रहेको थियो। विद्यालयले वार्षिकोत्सव मार्फत शैक्षिक उपलब्धि, विद्यार्थी प्रतिभा तथा सामाजिक उत्तरदायित्वलाई उजागर गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।





