Qमणिराम दाहाल / सुन्दरहरैंचा

माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिताकाे उपाधी भोजपुरको आमचोक गाउँपालिकाले जितेकाे छ ।

गछिया खेल मैदानमा बिहिवार भएको महिला भलिबल फाइनल खेल प्रतियोगिताको उपाधि भोजपुरको आमचोक गाउँपालिकाले उचालेको हाे । प्रतियाेगितामा सुन्दरहरैँचा नगरपालिका उपविजेता बनेर मन बुझाएको छ । फाइनल खेलमा आमचोक गाउँपालिका भोजपुरले सुन्दरहरैँचा नगरपालिका मोरङलाई साेझाे सेटमा उपविजेता बनाउँदै जित हासिल गरेको थियाे । आमचोकले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१६ ले जितेको हो ।

प्रतियोगितामा प्रथम हुने टिम आमचोक गाउँपालिकाले शिल्ड मेडल सहित १ लाख ३३ हजार ३ सय ३३ रूपैयाँ हात पारेको छ । साथै द्वितीय हुने टिम सुन्दरहरैँचा नगरपालिकाले ६६ हजार ६ सय ६६ रूपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे छ । विजेता तथा उपविजेता टिमलाई नगरप्रमुख केदारप्रसाद गुरागाईं, कार्यक्रमका अध्यक्ष नगर उपप्रमुख अकली चौधरी, नगर खेलकुद विकास समिति सदस्य सचिव खड्ग श्रेष्ठ , पूर्व राष्ट्रिय भलिबल खेलाडी पाेष्टकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियाेगितामा सुन्दरहरैँचाका खेलाडी मनिका श्रेष्ठ वेस्ट लिब्राे र क्रिष्मा डाँगी वेस्ट स्पाईकर घाेषित भए ।साथै आमचाेकका सरला राई वेस्ट डिफेन्स ,रूमा श्रेष्ठ वेस्ट सेटर र आरूषा तामाङ वेस्ट प्लेयर घाेषित भएर पुरस्कृत भए ।

प्रतियाेगिताकाेफाइनल खेलमा राष्ट्रिय भलिबल खेलाडी कृष्मा डाँगीलाई विशेष सम्मान गरिएकाे थियाे । माघ ६ गतेदेखि सिद्वार्थ युवा समाज क्लबको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेशका १२ वटा महिला भलिबल टिमकाे सहभागिता रहेको आयाेजक क्लबका अध्यक्ष असिम राईले जानकारी दिए । फाेटाे: maniram dahal

तपाईको प्रतिक्रिया