सुन्दरहरैँचा / २८६२ औं सोनाम ल्होछार पर्वको अवसरमा सुन्दरहरैंचा–६, बुद्धचौकस्थित गुम्बा परिसरमा सांस्कृतिक कार्यक्रम–२०८२ हुने भएको छ ।
ॐ साङ्गे रेसुम गुम्बा, सुन्दरहरैंचा–६ द्वारा आयोजना हुन लागेको उक्त कार्यक्रम माघ ५ र ६ गते सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। गुम्बाका सचिव तथा कार्यक्रम संयोजक सन्तोष मोक्तानले कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित बनाउन शान्ति–सुरक्षा व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको बताए। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्वयंसेवकहरूको समन्वयमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ थियो।
त्यसैगरी गुम्बाका अध्यक्ष प्रकाश पाख्रिनले सोनाम ल्होछार केवल पर्व मात्र नभई समुदायको संस्कृति, पहिचान र एकताको प्रतीक भएको उल्लेख गर्दै सबै समुदायलाई कार्यक्रममा सहभागी हुन आग्रह गरे। उनले कार्यक्रममार्फत धार्मिक तथा सांस्कृतिक संरक्षणसँगै आपसी सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्य रहेको बताए।
कार्यक्रम अन्तर्गत माघ ५ गते कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री भिम पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ। त्यस्तै माघ ६ गते सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदार गुरागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुनेछ।
सांस्कृतिक कार्यक्रमका मुख्य आकर्षणका रूपमा लोकप्रिय कलाकार बबिता किराती र पूजा लामाको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसमेत समावेश गरिने बताइएको छ। आयोजकले सोनाम ल्होछारको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी भई पर्वलाई भव्य र सफल बनाउन सबैमा हार्दिक आग्रह गरेको छ।





