सुन्दरहरैंचा / राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को २८औँ स्थापना दिवसको अवसरमा सुन्दरहरैंचा नगर कार्यसमितिले चिसोबाट बचाउन न्यानो कपडा वितरण गरेको छ ।
सुन्दरहरैँचा नगरपालिका २ पथरघट्टा टोलमा रहेका ६५ जना भन्दाबढी बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएकाे हो। कपडा वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्दरहरैँचाका नगर प्रमुख केदारप्रसाद गुरागाईले नेशनल प्याब्सनको २८औँ स्थापना दिवसको शुभकामना दिंदै शिक्षा क्षेत्रसँगै सामाजिक कार्यमा पनि सक्रिय रहेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा बोल्दै नेशनल प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष कमल खनालले आर्थिक विपन्नताको कारण कतिपयले जाडोमा चिसाेकाे कारण दु:ख पाएकाेले जाडो मौसम अभिशाप बन्न नपरोस् भनेर न्यानो कपडा वितरण गरिएको बताए । आगामी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उनको भनाइ थियो ।
नेशनल प्याब्सन सुन्दरहरैंचाका नगर अध्यक्ष खगेन्द्र धिमालको सभापतित्वमा कार्यक्रम भएको थियाे । कार्यक्रममा नेशनल प्याब्सन प्रदेश सदस्य सन्तोषकुमार राई, जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।





