सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा नगरपालिका १० स्थित हिमालय इङ्लिस स्कुलले विभिन्न शैक्षिक तथा सह–पाठ्यक्रम प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ।

कोशी प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सहित विभिन्न प्रतिस्पर्धामा सफलता हासिल गरेका विद्यार्थीहरूको मनोबल उच्च बनाउने उद्देश्यले विद्यालयले सम्मान कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा कोशी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने शिक्षा खनाल, नेपाली हस्तलेखन प्रतियोगितामा तेस्रो हुने महेश डुंगाना तथा अंग्रेजी हस्तलेखन प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्ने एलबि श्रेष्ठलाई सम्मान गरिएको थियो।

सम्मान कार्यक्रममा विद्यालय प्रशासनले विद्यार्थीहरूको मेहनत, अनुशासन र निरन्तर अभ्यासकै कारण यस्ता उपलब्धि सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा सह–पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता जनाउन प्रेरित गरेको उल्लेख गरिएको छ । शिक्षक तथा अभिभावकहरूले पनि विद्यार्थीहरूको सफलताले विद्यालयको शैक्षिक छवि अझ सुदृढ बनेको बताएका छन्।

विद्यालयले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढ्नुका साथै प्रतिस्पर्धात्मक क्षमता र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया