माेरङ / विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैंचाको सिद्धार्थ स्कुलले १५ औं संस्करणको प्याब्सन स्पोट मिटको उपाधि जितेका छन् ।

विराटनगरमा सम्पन्न प्रतियोगितामा ५ स्वर्ण पदकसहित सिनियरतर्फ एभरेष्ट स्कुल र ७ स्वर्णसहित जुनियरतर्फ सिद्धार्थ स्कुलले उपाधि जितेका हुन् । त्यस्तै, जुनियरतर्फ ५ स्वर्णसहित सुन्दरहरैंचाको पूर्वाञ्चल एकेडेमी द्धितीय, २ स्वर्ण र २ कास्य पदकसहित ग्रामथानको शारदा सेकेण्डरी स्कुल तृतीय तथा २ स्वर्ण र १ कास्यसहित रतुवामाईको मुनाल आदर्श स्कुल चौथो भएका छन् । एथलेटिक्सतर्फ विराटनगरको स्टार स्कुलकी प्रीति मुखिया ‘बेस्ट प्लेयर’ घोषित भइन् । सिनियर प्लस टु तर्फ १ स्वर्ण र ३ कास्य पदकसहित सुन्दरहरैंचाको ब्राइट फ्युचर स्कुल द्धितीय र १ स्वर्ण तथा १ कास्यसहित विराटनगरको अरनिको स्कुल तृतीय भएका छन् ।

प्याब्सन स्पोट मिट अन्तर्गतको फुटबल प्रतियोगिताको उपाधि पथरीको बाल्मिकी स्कुलले जितेको छ । भलिबलतर्फ चार फरक विद्यालयले उपाधि जितेका छन् । जुनियर छात्रमा रंगेलीको सनरे स्कुल र जुनियर छात्रामा उर्लाबारीको शिशु शिक्षा स्कुल प्रथम भए । जुनियर छात्रतर्फ उर्लाबारीको मोरङ मोडेल द्वितीय र रतुवामाईको दाम्राभिट्टा स्कुल तृतीय भए । जुनियर छात्रातर्फ पथरीको एभरेष्ट द्वितीय र बुढीगंगाको मोरङ पब्लिक स्कुल तृतीय भए ।

त्यसैगरी, सिनियर छात्रमा रतुवामाईको राष्ट्रिय निर्माण स्कुल र छात्रामा सुन्दरहरैंचाको ब्राइट फ्युचर स्कुलले उपाधि जिते । सिनियर छात्रतर्फ उर्लाबारीको पशुपति स्कुल द्वितीय र उर्लाबारीकै मोरङ मोडल स्कुल तृतीय भए भने सिनियर छात्रातर्फ पथरीको रेडस्टार स्कुल द्वितीय र उर्लाबारीको पशुपति स्कुल तृतीय भए ।

बास्केटबल प्रतियोगितामा जुनियर छात्रतर्फ विराटनगरको सगरमाथा स्कुल प्रथम भयो । प्लस टु सिनियर छात्रतर्फ पनि सगरमाथा स्कुल नै प्रथम भयो भने विराटनगरको एभरेष्ट द्वितीय र सिद्धार्थ स्कुल तृतीय भए । त्यसैगरी, प्लस टु छात्रातर्फ विराटनगरको एभरेष्ट स्कुल प्रथम, अरनिको स्कुल द्वितीय र सगरमाथा स्कुल तृतीय भए ।

प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार मंसिर १९ देखि २१ गतेसम्म सञ्चालित प्रतियोगितामा जिल्लाभरका २३५ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी खेलाडीहरूले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया