मणिराम दाहाल / सुन्दरहरैंचा
मोरङको सुन्दरहरैंचास्थित प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण एनी गछिया गोल्डकप प्रतियोगिताको उपाधि राष्ट्रिय जागृति फुटबल क्लब इटहरीले उचालेकाे छ।
सोमबार सम्पन्न फुटबलकाे फाइनल खेलमा राष्ट्रिय जागृतिले गाइघाट युनाइटेडलाई १–० गाेल अन्तरले पराजित गर्दै उपाधि जितेकाे हो ।राष्ट्रिय जागृति युवा क्लब इटहरीका तर्फबाट जर्सी नम्बर १२ का प्रभेश बस्नेतले खेलको ४८ अाैँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई उपाधि दिलाए । उपाधिसँगै विजेता राष्ट्रिय जागृति क्लबले नगद २ लाख १ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयाे । उपविजेता गाइघाट युनाइटेडले १ लाख १ हजारमा चित्त बुझायाे ।
प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी राष्ट्रिय जागृतिका प्रवेश दनुवार घोषित भए । उनले २५ हजार रूपैयाँ पुरस्कार पाए । खेलकाे म्यान अफ द म्याच राष्ट्रिय जागृतीका प्रभेश बस्नेत घाेषित भएर रु ५१ सय पाए ।खेलमा बेष्ट गोल किपर राष्ट्रिय जागृती क्लबका बिश्वास चौधरी घाेषित भए। बेष्ट डिफेन्डर राष्ट्रिय जागृतीका मणिन्द्र याख्या तथा बेष्ट मिड फिल्डरमा गाईघाट युनाईटेड उदयपुरका बिबेक राई घाेषित भए । बेष्ट कोच राष्ट्रिय जागृतीका बिमल मगर तथा राइजिड्ग प्लेयर्स गछीया युवा समाजका शिब राई साथै हाई स्काेर गछिया युबा समाजका प्रदिप बुढाथोकी (४ गोल) घाेषित भएर पुरस्कृत भए । प्रतियाेगितामा उत्कृष्ट खेलाडीहरूलाई नगद रू ११/११ हजारका दरले पुरस्कार वितरण गरिएको थियाे ।
फुटबलको फाइनल खेलमा प्रमुख अतिथि राष्ट्रिय सभा पूर्व संसदिय दलका नेता रमेशजंघ रायमाझी थिए । “लागुऔषधले लिन्छ ज्यान, गछिया युवा समाजको आवहान स्वस्थ रहन खेलकुदमा ध्यान” भन्ने मूल नारासहित गछिया युवा समाज मोरङको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण एनी गछिया गोल्डकप भएको थियाे ।
मंसिर १५ देखि २२ गते सम्म भएको प्रतियोगितामा सहलेश फुटबल क्लव सिरहा ,दमक फुटबल एकेडेमी झापा, बेलबारी फुटबल क्लव मोरङ,जलथल फुटबल क्लव झापा,गाईघाट युनाइटेड उदयपुर,राष्ट्रिय जागृती फुटबल क्लव सुनसरी, लिजेण्ड फुटबल एकेडेमी पश्चिम बंगाल दार्जिलिङ, भारत र आयोजक गछिया युवा समाज गरी ८ टिमको सहभागिता रहेकाे खेल संयोजक प्रलाद थोप्रा लिम्बुले जानकारी दिए ।
प्रतियाेगितामा सुन्दरहरैंचा नगरपालिकाबाट प्रत्येक वडाका ज्येष्ठ नागरिकलाई सम्मान साथै शारीरिक अपांगता भएका २ जनालाई व्हिलचेयर प्रदान गरिएको आयाेजक गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले जानकारी दिए ।





