सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा आनन्द इन्टरप्राइजेज प्रा.लि. सञ्चालनमा आएकाे छ ।
शनिबार उत्त इन्टरप्राइजेजकाे विधिवत रूपमा उद्घाटन कार्यक्रम भएको हाे । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुन्दरहरैँचा ८ का वडाअध्यक्ष खेमप्रसाद न्यौपाने तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले संयुक्त रूपमा उद्योगकाे उदघाटन गरेका थिए ।उद्योगले हिमालयन ब्ल्याक साल्ट (कालो नुन), बिरे नुन तथा अन्य प्रकारका सिधाे नूनलाई शुद्ध, मिसावट रहित रूपमा रिफाइन गरी प्याकेजिङ गरेर बजारमा उपलब्ध गराउने जनाएको छ।
अहिले साना मेसिनहरूको प्रयोग गर्दै हातैले प्याकेजिङ कार्य भइरहेकाे र छिट्टै ठूला मेसिन जडान गर्ने तयारी भइरहेको प्रोपाइटर निखिल रिजालले जानकारी दिए।
करिब ४५ लाख रूपैयाँ लागतमा याे उद्योग सञ्चालनमा आएको हो। कम्पनीका अनुसार केही महिनापछि तोरीको तेल, फापरको पिठो, कोदोको पिठो लगायतका सामग्री पनि आकर्षक र गुणस्तरीय प्याकेजिङमार्फत बजारमा उल्लेख गरिएको छ।
उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले युवाहरू विदेशीने क्रमले निराशा बढिरहेका बेला युवाद्वारा सञ्चालनमा आएको यो उद्योग नमुना र प्रेरक कार्य भएको बताए। साथै, यस्ता उद्यमलाई सबैले हौसला र सहकार्य गर्नुपर्नेमा जोड दिए। वडा अध्यक्ष न्यौपानेले युवा उद्योगीलाई स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीले पहिलो चरणमा इटहरी–पूर्वका शहरहरूमा उत्पादन बिक्री गर्ने र केही समयपछि काठमाडौंका सुपर मार्केटसम्म विस्तार गर्ने लक्ष्य राखेको छ।





