सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण एनी गछिया गोल्डकप २०८२ हुने भएको छ।
“लागुऔषधले लिन्छ ज्यान, गछिया युवा समाजको आवहान स्वस्थ रहन खेलकुदमा ध्यान” भन्ने मूल नारासहित गछिया युवा समाज मोरङको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण एनी गछिया गोल्डकप हुन् लागेको हो। बिहिबार गछियाको एसएस क्याफेमा पत्रकार सम्मेलन गर्दै आयोजक गछिया युवा समाजले आगामी मंसिर १५ देखि २२ गतेसम्म खेल सञ्चालन हुन लागेको जानकारी दिएको छ। पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका संयोजक प्रलाद थोप्रा लिम्बुले लागुऔषध मुक्त समाज र खेलकुदमय युवालाई बलियो बनाउने उद्देश्यका साथ खेल आयोजना गर्न लागिएको बताए।
प्रतियोगितामा सहलेश फुटबल क्लव सिरहा ,दमक फुटबल एकेडेमी झापा, बेलबारी फुटबल क्लव मोरङ,जलथल फुटबल क्लव झापा,गाईघाट युनाइटेड उदयपुर,राष्ट्रिय जागृती फुटबल क्लव सुनसरी, लिजेण्ड फुटबल एकेडेमी पश्चिम बंगाल दार्जिलिङ, भारत र आयोजक गछिया युवा समाज गरी ८ टिमको सहभागिता रहने संयोजक थोप्रा लिम्बुले बताए।
प्रतियोगितामा प्रथम हुने टिमलाई दुई लाख १० हजार सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । द्वितीय हुने टिमले एक लाख १० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बताए।
प्रतियोगितामा म्यान अफ द सिरिजलाई २५ हजार ,उत्कृष्ट डिफेन्स,फरवार्ड, मिडफिल्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षक उत्कृष्ट राइजिङ्ग खेलाडीलाई नगद ११/११ हजारका दरले पुरस्कारको व्यवस्था गरिएको छ। प्रत्येक खेलका म्यान अफ दी म्याचलाई ५ हजार एक सय पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा बोल्दै सुन्दरहरैंचा नगर खेलकुद विकास समितका सदस्य सचिव खड्गबहादुर श्रेष्ठले फुटबल खेलको प्रवर्द्धनका लागि सुन्दरहरैंचामा गछिया युवा समाजले यति ठूलो प्रतियोगिता गर्न लागेको भन्दै यसलाई सफल पार्न नगर खेलकुद विकास समितिले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतियोगितामा सम्मानका दिन जेष्ठ नागरिक प्रत्येक वडाका १ जनालाई सम्मान गरिने उल्लेख गरिएको छ । साथै शाररीक अपाङ्गता भएको १ पुरुष १ महिला लाई व्हिल चेयर वितरण गरिने छ । यस्तै खेल क्षेत्रमा योगदान पुर्याउनु भएको यसै क्षेत्र अन्तरर्गतबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीलाई सम्मान गरिने आयोजकले जनाएको छ। प्रतियाेगिता सम्पन्न गर्न २८ लाख खर्च लाग्ने उल्लेख गरिएको छ ।





