मणिराम दाहाल / सुन्दरहरैंचा

माेरङकाे सुन्दरहरैंचा नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारहरूले आफ्नो बसोबासको भूमिमा कानुनी स्वामित्व प्राप्त गरेका छन्। बुधबार नगरपालिकाको कार्यालयमा आयोजित विशेष समारोहका बीच वडा नं. ८ र १० का ७८ घरपरिवारलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी रहेका थिए। सो अवसरमा सुन्दरहरैंचाका नगर प्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चौधरी, भूमि समस्या समाधान आयोग जिल्ला समिति मोरङका अध्यक्ष नवीन पौडेल, कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, तथा संविधान सभा सदस्य चन्द्रबहादुर गुरूङ लगायतका अतिथिहरूले बाेलेका थिए ।

नगरपालिकाका अनुसार, नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको नापी विभाग र सुन्दरहरैंचा नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा भूमिहीन दलित र सुकुम्बासी परिवारहरूले वर्षौँदेखि बसोबास गर्दै आएको स्थानमा कानुनी स्वामित्व प्राप्त गरेका हुन्।

यस कदमले उनीहरूलाई दीर्घकालीन आवास सुरक्षा दिलाउने र सरकारी सेवा–सुविधा प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा जग्गाधनी प्रमाण–पूर्जा प्राप्त गरेका लाभग्राहीहरूले सरकार र नगरपालिकाप्रति आभार प्रकट गर्दै खुसी व्यक्त गरेका थिए। कार्यक्रमकाे सञ्चालन नगरपालिकाका कर्मचारी लक्ष्मीप्रसाद पाेखरेलबाट भएको थियाे ।

तपाईको प्रतिक्रिया