सुन्दरहरैँचा / मोरङ जिल्लाको केरावारी गाउँपालिका–२ स्थित जेफाले आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।
हरियालीले ढाकिएको डाँडाकाे फेदिमा अवस्थित यो बस्तीले आसपासका घरहरू, खेतबारी र रमणीय पहाडी दृश्यको अद्भुत संयोजन प्रस्तुत गर्छ। जेफालेबाट वरिपरिका घरहरूमा देखिने रङ्गीन छानाहरू, हरिया वनपाखा र स्वच्छ आकाशको सुन्दर मिलनले यहाँ आउने जो–कोहीलाई मोहित बनाउँछ। स्थानीय बासिन्दाहरूका अनुसार पछिल्ला वर्षहरूमा यहाँ आन्तरिक पर्यटकको आवागमन बढ्दै गएको छ। विशेषगरी बिहान र बेलुकाको समयमा बादल र सूर्यको खेलले जेफालेको दृश्य झन् मनमोहक देखिन्छ।
पर्यटकहरू प्राकृतिक सौन्दर्यका साथै यहाँको परम्परागत बस्ती, स्थानीय संस्कृतिको अध्ययन तथा गाउँजीवन अनुभव गर्न पनि आउने गर्छन्।गाउँपालिकाले पनि यस क्षेत्रलाई पर्यटकीय दृष्टिले थप विकसित गर्न पूर्वाधार निर्माण तथा प्रचार –प्रसारका काम अघि बढाइरहेको बताएको छ।
स्थानीयवासीका अनुसार, सडक सञ्जालमा सुधार र होमस्टे सेवा विस्तारसँगै जेफालेलाई पूर्वी नेपालको आकर्षक दृश्यावलोकन स्थलका रूपमा स्थापित गर्न सकिने सम्भावना उच्च छ।





