• सिजन श्रेष्ठ

सायद
यो कालो पैताला
बगरमा बालुवा चाल्ने,
गिट्टी कुट्ने
बाढीले बगाएर ल्याएको
दाउरा बटुल्ने

वा मरेको मान्छेको हंस खोजिहिँड्ने
कोही
आदिवासी मजदुरको हुन सक्छ

या हुन सक्छ
तिनीहरूको दुःखलाई
मजबुरीलाई
आकाशबाट
पानीबाट
जमिनबाट
टुलुटुलु हेरिरहने
अनाम’ नाम गरेको
अस्तित्वहीन
कुनै
उत्तरआधुनिक
भगवानको पैताला ।

या हुन सक्छ
नदीलाई
बगरलाई
माटोलाई
दिनहुँ
बेफ्वाँकमा

पुजिहिँड्ने
कुनै धर्मभीरूको पैताला ।

या त यो
पैताला नै नहुन पनि सक्छ

या नहुन सक्छ
केही केही पनि नहुन सक्छ ।

– सुन्दरहरैँचा , माेरङ

तपाईको प्रतिक्रिया