मणिराम दाहाल / सुन्दरहरैँचा
षडानन्द प्रज्ञा प्रतिष्ठान र षडानन्द बहुमुखी क्याम्पस दिङ्लाको संयुक्त आयोजनामा दसैँ विशेष शुभकामना आदानप्रदान तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ।
भोजपुरको षडानन्द नगरपालिका–दिङ्लामा आयोजित कार्यक्रममा साहित्यकारहरूले आफ्ना सिर्जना वाचन गर्नुका साथै आउँदै गरेका चाडपर्वको शुभकामना आदानप्रदान गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि षडानन्द नगरपालिकाका नगरप्रमुख सुरेन्द्र उदासले बडादसैँ, तिहारलगायत विभिन्न चाडपर्वको शुभकामना व्यक्त गर्दै दिङ्लामा हालै स्थापना भएको षडानन्द प्रज्ञा प्रतिष्ठानको गतिविधिमा नगरपालिकाको पूर्ण सहयोग रहने विश्वास दिलाए । उनले स्थानीय स्तरमा साहित्यिक गतिविधिको विकास र प्रवर्द्धनका लागि प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि तथा ॐ षडानन्द कर्मयोग आश्रमका अध्यक्ष ऋषिराज लुम्सालीले दसैँलगायत विभिन्न चाडपर्वको शुभकामना व्यक्त गर्दै नगरप्रमुखसमक्ष स्थानीय क्षेत्रका विभिन्न समस्याबारे चर्चा गरेका थिए । षडानन्द प्रज्ञा प्रतिष्ठान दिङ्लाका अध्यक्ष सविन लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरू ऋषिराज लुम्साली, हेमराज गुरागाईँ, खोमचन्द्र गुरागाईँ र नवीन पोखरेल ‘आकाश’ले आ–आफ्ना कविता वाचन गरेका थिए । रचनावाचनका क्रममा साहित्य, संस्कृति र सिर्जनाका विविध पक्षलाई समेटिएका कवितामार्फत सहभागीहरूले दसैँ विशेष कार्यक्रमलाई साहित्यिक वातावरणमा सम्पन्न गरेका थिए।
षडानन्द बहुमुखी क्याम्पसका प्रमुख तथा षडानन्द प्रज्ञा प्रतिष्ठानका सल्लाहकार नगेन्द्र बस्नेतले नवस्थापित प्रतिष्ठानसँग सहकार्य गर्न क्याम्पस सधैँ तत्पर रहेको बताए । उनले साहित्यिक गतिविधि सञ्चालन तथा स्थानीय साहित्यिक प्रतिभाको पहिचान र प्रवर्द्धनका लागि प्रतिष्ठान र क्याम्पसबिच सहकार्य आवश्यक रहेको धारणा राखे ।
प्रतिष्ठानका सचिव मोहन तामाङले दिङ्लामा साहित्यिक गतिविधिको अवस्था र यसको विकासका सम्भावनाबारे चर्चा गरेका थिए । उनले स्थानीय स्तरमा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै साहित्यप्रति रुचि राख्ने व्यक्तिहरूलाई सिर्जनात्मक गतिविधिमा जोड्ने विषयमा आफ्नो धारणा राखे ।
भोजपुर जिल्लाको दिङ्लामा २०८३ साल साउन १६ गते स्थापना भएको षडानन्द प्रज्ञा प्रतिष्ठानको यो पहिलो कार्यक्रम हो। प्रतिष्ठानको आगामी गतिविधि तथा साहित्यिक अभियानका विषयमा कार्यक्रमले प्रारम्भिक आधार तयार गरेको आयोजकले जनाएको छ। कार्यक्रमबारे जानकारी दिँदै अग्रज पत्रकार तथा साहित्यकार कृष्णविनोद लम्सालले प्रतिष्ठानको पहिलो कार्यक्रमका रूपमा दसैँ विशेष शुभकामना आदानप्रदान तथा रचनावाचन आयोजना गरिएको बताए । स्थानीय साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रतिष्ठानले आगामी दिनमा थप गतिविधि सञ्चालन गर्ने अपेक्षा गरिएको छ।





