सुन्दरहरैँचा / मोरङ बेलबारीका स्रष्टा केशु विरही र नवराज पोखरेल ‘नवशिला’ का दुई बाल साहित्यिक कृति लोकार्पण भएको छ ।
सुन्दरहरैँचा –१०, मोरङमा रहेको रोजाइ इनोभेटिभ स्कुलको सभाहलमा आयोजित कार्यक्रममा विरहीको ‘उपहार’ (बाल चित्रकथा) र नवशिलाको ‘परी भए म’ (बाल कवितासङ्ग्रह) कृतिका लोकार्पण गरिएको हो । बालबालिकाका लागि तयार पारिएका यी दुवै कृतिलाई १०१ जना बालकालिकाका हातबाट लोकार्पण गरिएको थियो । यी दुवै कृतिलाई कोसी साहित्य–कला परिषद् नेपालले हालसालै प्रकाशनमा ल्याएको हो
कार्यक्रमलाई सम्बोधन गर्दै अग्रज स्रष्टा तथा भाषाविद् अमृतप्रसाद आचार्यले बालबालिकाका लागि लेखिएका कृति उनीहरूकै हातबाट लोकार्पण गराउनु राम्रो अभ्यासको सुरुआत भएको बताए । सुकुना माविका पूर्व प्रधानाध्यापकसमेत रहेका आचार्यले यी दुवै कृतिले पठन संस्कृतिको विकासमा सहयोग पुर्याउने आशा पनि व्यक्त गरे ।
कार्यक्रममा लोकार्पित दुवै कृतिमाथि कवि तथा आख्यानकार छवि वैरागी घिमिरेले समीक्षा प्रस्तुत गरेका थिए । कृतिमाथिको समीक्षा प्रस्तुत गर्दै वैरागीले बालबालिकाको मनोविज्ञान बुझेर लेखिएका कृति कमी रहेका बेलामा आएका यी कृति निकै उपयोगी रहेका विचार व्यक्त गरे । सुन्दरहरैँचा कला साहित्य विकास समितिका संस्थापक अध्यक्षसमेत रहेका वैरागीले यस्ता उपयोगी रचनाहरूलाई स्थानीय पाठ्यक्रममा समामेस गरेर सबै बालबालिकासम्म पुर्याउनुपर्नेमा जोड दिए ।
कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले अभियानको औचित्यका बारेमा प्रस्ट पार्दै आफूहरू बालबालिकाको पठन संस्कृति अभिवृद्धिका लागि अभियान सञ्चाल गरिरहेको बताए ।
लेखक तथा अनुसन्धातासमेत रहेका विरहीले पुस्तकबाट टाढिएका बालबालिकालाई बालसाहित्यिक पुस्तक दिएर नजिक ल्याउन सकिने बताउँदै आफूहरू सोही अभियानमा रहेको बताए । उक्त कार्यक्रममा रोजाइ इनोभेटिभ स्कुलमा निर्देशक एवम् सामाजिक व्यक्तित्व महेश आचार्य तथा मुक्तककार नवराज नवशिलाले आआफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा ‘परी भए म’ भित्रका रचनालाई बालबालिकाले साङ्गीतिक रूपमा प्रस्तुतसमेत गरेका थिए । लेखकद्वय विरही र नवशिलाले २०८३ सालको पूरै समयलाई बालबालिकाका लागि प्रदान गर्ने उद्घोष गरेर सोहीअनुसारका कार्यक्रमको आयोजना गर्दै आएका छन् । साथै कोसी साहित्य–कला परिषद् नेपालले पनि बालबालिकामा पठन संस्कृति अभिवृद्धिलाई जोड दिँदै सरोकारवाला निकायसँग जोडिएर विभिन्न कार्यक्रम गर्ने योजना अघि सारेको छ । रोजाइ इनोभेटिभ स्कुलमा निर्देशक महेश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने कोसी साहित्य–कला परिषद् नेपालका कोषाध्यक्ष चिरञ्जीवी काफ्लेको रहेको थियो ।





