सुन्दरहरैंचा / हरियाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सभाको उद्घाटन सुन्दरहरैंचा नगरपालिका–६ का वडा अध्यक्ष सन्तोष लिङदेनले गरेका थिए । उद्घाटन गर्दै प्रमुख अतिथि लिङदेनले सामुदायिक वनले स्थानीय स्तरमा वन संरक्षण, वातावरणीय सन्तुलन र जनजीविकाको सुधारमा खेलेको भूमिकाको प्रशंसा गरे।। उनले भने “सामुदायिक वनले न केवल हरियाली कायम राखेको छ, यसले जनताको आयआर्जन र सामुदायिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ। स्थानीय सरकार र सामुदायिक वनबीच सहकार्य अझ सुदृढ हुनुपर्छ।”

कार्यक्रम समूहका अध्यक्ष महेश राईकाे सभापतित्वमा सम्पन्न भएको थियाे । उनले स्वागत मन्तव्य व्यक्त गर्दै सामुदायिक वनको संरक्षण, व्यवस्थापन र उपभोक्ताको हितमा समूह निरन्तर सक्रिय रहेको बताए । सभामा अध्यक्ष राईले आर्थिक वर्ष २०८१/०८२ का कार्यहरू बुँदागत रूपमा प्रस्तुत गरे । प्रतिवेदन अनुसार समूहले सो वर्षमा १६ पटक बैठक बसेर निर्णय गरेको, १४१९.३० क्यू.फिट गोलिया काठ र ६ चट्टा दाउरा उपभोक्तामा वितरण गरेको, विपन्न वर्गका उपभोक्तालाई निःशुल्क दाउरा उपलब्ध गराएको र २ हेक्टर क्षेत्रमा गोडमेल तथा पत्ल्याउने कार्य सम्पन्न गरेको जानकारी दिए।

त्यसैगरी नर्सरी क्षेत्रभित्र झाडी सफाइ, सडक सरसफाइ, विभिन्न तालीम तथा गोष्ठीमा सहभागिता, सिपमूलक तालीम (साबुन, फिनेल र हर्षिक निर्माण) सञ्चालन, कार्यालय र घाटगद्दीमा सीसी क्यामेरा जडान, र पर्यटकीय क्षेत्रभित्र वनभोज स्थलका लागि टहरा निर्माणको तयारी पनि गरिएको छ।

अध्यक्ष राईले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कार्ययोजना समेत प्रस्तुत गरेका थिए । कार्ययोजनामा खाली ठाउँमा वृक्षारोपण, चोरी–शिकारी नियन्त्रण, सिपमूलक तालीम सञ्चालन, पर्यटकीय टहरा निर्माण, लाठ्रा गोडमेल, पोखरी सफाइ र सिमसार संरक्षण, बिग्रिएका रुखहरूको कटानी तथा उपभोक्तालाई वितरण, र हात्ती आतंक न्यूनीकरणका लागि पोखरी निर्माण जस्ता योजना समावेश छन्।

अन्त्यमा अध्यक्ष राईले डिभिजन वन कार्यालय मोरङ, सव डिभिजन लाटिझोडा, सामुदायिक वन महासंघ, सल्लाहकार समिति, लेखा समिति, टोली प्रमुख, कर्मचारी तथा उपभोक्ताहरूलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरे। उनले प्रतिवेदन छलफल सहित पारित गरिदिन अनुरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया