;

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–५ मा रहेको सुन्दरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको तेस्रो वार्षिक साधारण सभा मंगलबार साना किसान कृषि सहकारी संस्थाको सभाहलमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा भएको सभामा सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईं प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा संस्थाका अध्यक्ष राईले संस्थाको प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम र योजनाहरू प्रस्तुत गरेका थिए। त्यसैगरी, कोषाध्यक्ष चिरञ्जीवी रेग्मीले आर्थिक प्रतिवेदन र लेखा संयोजक परशुराम घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै संस्थाको आगामी कार्ययोजना र प्रगतिका विषयमा जानकारी गराइएको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मी सिग्देलले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित अतिथि, उपभोक्ता तथा सरोकारवालालाई स्वागत गरेकी थिइन्। कार्यक्रमको सञ्चालन संस्थाका सचिव शंकर देवानले गरेका थिए।

साधारण सभामा संस्थाका सल्लाहकार पुरनकुमार राई, केशरमान गुरुङ, अरुण सुवेदी, राधा ढकाललगायत विभिन्न सल्लाहकार, सुन्दरहरैँचा नगरपालिका–६ का वडाध्यक्ष सन्तोष लिङ्देन, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, नागरिक समाजका अगुवा, उपभोक्ता तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सभाको अवसरमा संस्थाका सल्लाहकार पुरनकुमार राई र निवर्तमान अध्यक्ष नागेश पोखरेललाई सम्मानपत्र प्रदान गर्दै टोपी लगाएर सम्मान गरिएको थियो। संस्थामा कार्यरत कर्मचारीहरूलाई उनीहरूको योगदानको कदर गर्दै पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद गुरागाईंले संस्थाको तेस्रो वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए। उनले खानेपानी तथा सरसफाइ सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले यसको प्रभावकारी व्यवस्थापन, गुणस्तरीय सेवा प्रवाह र उपभोक्ताप्रति उत्तरदायी संस्थागत कार्यशैली महत्वपूर्ण रहेको बताए।

नगर प्रमुख गुरागाईंले खानेपानी संस्थाले उपभोक्तालाई स्वच्छ, सुरक्षित र सहज रूपमा खानेपानी उपलब्ध गराउन निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिँदै संस्थाको दिगो विकास र सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।

संस्थाको वार्षिक साधारण सभाले विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा खानेपानी तथा सरसफाइ सेवाको गुणस्तर सुधार, संस्थागत विकास र उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

;