सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित बाल सदन एकेडेमीकी छात्रा रेवा काफ्लेले चितवनमा आयोजित प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन्।
१२ देशका खेलाडी सहभागी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै रेवाले स्वर्ण पदक हासिल गरेकी हुन्। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिता कात्तिक १३, १४ र १५ गते सम्पन्न भएको थियो। अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेसँगै रेवाको उपलब्धिले विद्यालय, सुन्दरहरैँचा तथा कोशी प्रदेशको खेलकुद क्षेत्रमा थप उत्साह र गौरव थपेको छ।
सानै उमेरदेखि तेक्वान्दो प्रशिक्षणमा लागेकी रेवा यसअघि पनि विभिन्न नगर, जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा दर्जनौँ पटक प्रथम स्थान हासिल गरिसकेकी छन्। उनले सन् २०२४ को प्रथम भारत तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक तथा चौधौँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता–२०८१ मा कास्य पदक जितेकी थिइन्। खेलकुदसँगै अध्ययनमा समेत अब्बल रेवा नृत्य, वक्तृत्वकला लगायतका अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रहँदै आएकी छन्। उनले विभिन्न अन्तरविद्यालयस्तरीय प्रतियोगितामा सहभागी भएर आफ्नो बहुआयामिक प्रतिभा प्रस्तुत गर्दै आएकी छन्।
विद्यालयका प्रिन्सिपल नीरज ढकालले रेवाको सफलतामा विद्यालयको निरन्तर प्रोत्साहन र प्रशिक्षणको महत्वपूर्ण भूमिका रहेको बताए। उनका अनुसार विद्यालयका प्रबन्ध निर्देशक तथा तेक्वान्दो प्रशिक्षक सूर्य दंगालले सानै उमेरदेखि रेवाको खेल प्रतिभा पहिचान गरी प्रशिक्षण र आवश्यक अवसर प्रदान गर्दै आएका छन्।
प्रशिक्षक सूर्य दंगालले बालबालिकाको रुचि र क्षमता पहिचान गरी उचित प्रशिक्षण, अवसर तथा अभिभावकको साथ र सहयोग प्राप्त भए उनीहरूलाई सफल बनाउन सहज हुने बताए। रेवाको अन्तर्राष्ट्रिय सफलताले आफूलाई खुसीसँगै गर्वको अनुभूति भएको उनले उल्लेख गरे। प्रशिक्षक दंगाल प्रतियोगितामा कोशी प्रदेश टोलीको व्यवस्थापकका रूपमा समेत सहभागी थिए।
अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेर विद्यालय, स्थानीय क्षेत्र, प्रदेश तथा राष्ट्रको प्रतिष्ठा बढाउन सफल रेवाको उपलब्धिप्रति बाल सदन एकेडेमी परिवारले प्रशंसा गर्दै आगामी दिनमा खेलकुद तथा शैक्षिक क्षेत्रमा थप सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरेको छ।





