;

सुन्दरहरैँचा / दशैँ–तिहारको अवसर पारेर मोरङको सुन्दरहरैँचा नगरपालिका–विराटचोकमा ‘सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३’ आयोजना हुने भएको छ।

उद्योग वाणिज्य संघ सुन्दरहरैँचाको आयोजनामा असोज २५ गतेदेखि कात्तिक १० गतेसम्म फेस्टिभल सञ्चालन हुने भएको हो। चाडपर्वको समयमा स्थानीय तथा बाह्य आगन्तुकलाई मनोरञ्जन प्रदान गर्नुका साथै विभिन्न खानाका परिकार, कला र संगीतलाई एउटै स्थानमा प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

फेस्टिभलमा विभिन्न प्रकारका खानाका परिकारका स्टलसँगै चर्चित कलाकार तथा स्थानीय प्रतिभाको सांगीतिक र सांस्कृतिक प्रस्तुति रहनेछ। परिवार तथा साथीभाइसँगै फेस्टिभलमा पुगेर खानाका परिकारको स्वाद लिनुका साथै मनोरञ्जन लिन सकिने आयोजकको भनाइ छ।

उद्योग वाणिज्य संघ सुन्दरहरैँचाका अध्यक्ष नारायण कार्कीले दशैँ–तिहारको अवसरमा विराटचोकमा छुट्टै उत्सवको वातावरण सिर्जना गर्ने उद्देश्यले फुड फेस्टिभल आयोजना गर्न लागिएको बताए। उनले स्थानीय उत्पादन, खानाका परिकार तथा व्यवसायको प्रवर्द्धनसँगै सुन्दरहरैँचाको व्यापारिक गतिविधिलाई चलायमान बनाउन फेस्टिभलले सहयोग पुग्ने अपेक्षा गरिएको उल्लेख गरे ।

फेस्टिभलमा स्थानीय व्यवसायी तथा खाद्य परिकारसँग सम्बन्धित उद्यमीलाई सहभागी गराउने तयारी भइरहेको छ। चाडपर्वको समयमा विराटचोकमा हुने कार्यक्रमले स्थानीय व्यवसाय प्रवर्द्धनका साथै आगन्तुकको आकर्षण बढाउने आयोजकको विश्वास छ। ÷ मणिराम दाहाल

तपाईको प्रतिक्रिया

;