सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित गछियामा ‘एसएस फिटनेस’ सञ्चालनमा आएको छ। युवापुस्तादेखि सबै उमेर समूहका नागरिकलाई नियमित व्यायाममार्फत स्वस्थ, सक्रिय र ऊर्जावान जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले फिटनेस सेन्टर सञ्चालनमा ल्याइएको हो।
एसएस फिटनेसको औपचारिक उद्घाटन राजनीतिक तथा सामाजिक व्यक्तित्व देवराज तामाङले रिबन काटेर गरेका हुन्। उद्घाटन कार्यक्रममा तामाङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रम एसएस फिटनेसका सञ्चालक सुमन याक्खाको अध्यक्षतामा सम्पन्न भएको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले स्वस्थ जीवनशैलीका लागि नियमित व्यायामको महत्वपूर्ण भूमिका हुने बताए। पछिल्लो समय व्यस्त जीवनशैली, अस्वस्थ खानपान तथा शारीरिक गतिविधिको कमीका कारण विभिन्न स्वास्थ्य समस्या बढ्दै गएको अवस्थामा फिटनेस सेन्टरको सञ्चालनले स्थानीयवासीलाई नियमित व्यायामतर्फ आकर्षित गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
उनले फिटनेस तथा व्यायामलाई केवल शरीर बनाउने माध्यमका रूपमा मात्र नभई स्वस्थ र अनुशासित जीवनशैलीको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिए। स्थानीयस्तरमै व्यवस्थित फिटनेस सेन्टर सञ्चालनमा आउनु सकारात्मक भएको बताउँदै उनले एसएस फिटनेसले गुणस्तरीय सेवा प्रदान गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल हुने विश्वास व्यक्त गरे।
एसएस फिटनेसका सञ्चालक सुमन याक्खाका अनुसार फिटनेस सेन्टरमा नियमित व्यायाम तथा शारीरिक तन्दुरुस्तीका लागि आवश्यक वातावरण र सेवामा विशेष ध्यान दिइएको छ। युवाहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको भए पनि स्वास्थ्य र फिटनेसमा रुचि राख्ने सबै उमेर समूहका व्यक्तिलाई सेवा उपलब्ध गराउने उद्देश्य रहेको उनले बताए।
याक्खाका अनुसार एसएस फिटनेसको उद्घाटनसँगै ग्राहकलाई लक्षित गरी विशेष छुट तथा अफरसमेत सार्वजनिक गरिएको छ। उद्घाटनको अवसरमा १५ दिनसम्म एडमिसन निःशुल्क गरिएको छ।
त्यस्तै, एक महिनाको शुल्क २ हजार रुपैयाँ तोकिएको छ भने तीन महिनाको प्याकेज ५ हजार रुपैयाँमा उपलब्ध गराइएको छ। तीन महिनाको प्याकेजमा नियमित शुल्कभन्दा १ हजार रुपैयाँ छुटको व्यवस्था गरिएको सञ्चालक याक्खाले जानकारी दिए। त्यसैगरी, वार्षिक सदस्यताका लागि १८ हजार रुपैयाँ शुल्क तोकिएको छ।
उद्घाटनको अवसरमा उपलब्ध गराइएको विशेष छुटले स्थानीय युवाहरू तथा फिटनेसमा रुचि राख्ने व्यक्तिलाई सहज रूपमा सेवा लिन प्रोत्साहन गर्ने सञ्चालक याक्खाको अपेक्षा छ।
उनका अनुसार पछिल्लो समय सुन्दरहरैँचा क्षेत्रमा फिटनेस तथा शारीरिक तन्दुरुस्तीप्रति युवाहरूको आकर्षण बढ्दै गएको छ। यही आवश्यकता र मागलाई मध्यनजर गर्दै व्यवस्थित रूपमा एसएस फिटनेस सञ्चालनमा ल्याइएको हो।
एसएस फिटनेसले नियमित व्यायामसँगै स्वस्थ जीवनशैलीप्रति जनचेतना बढाउने र स्थानीय युवालाई शारीरिक रूपमा सक्रिय बनाउन सहयोग गर्ने लक्ष्य लिएको छ।
सञ्चालक याक्खाले आगामी दिनमा सेवाको गुणस्तरलाई प्राथमिकतामा राख्दै ग्राहकको आवश्यकता र सुझावअनुसार थप सेवा तथा सुविधा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुन्दरहरैँचा–३ मा नयाँ फिटनेस सेन्टर सञ्चालनमा आएसँगै स्थानीय युवाहरू तथा व्यायामप्रेमीहरूका लागि नियमित शारीरिक अभ्यास गर्ने थप विकल्पसमेत थपिएको छ।





