सुन्दरहरैँचा / स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गर्दै मोरङको सुन्दरहरैँचामा ‘सहयोगी मनहरू’ले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। आर्थिक अभावका कारण स्वास्थ्य परीक्षण गराउन कठिनाइ भोगिरहेका स्थानीयलाई लक्षित गरी आयोजित शिविरमा १६० भन्दा बढीले सेवा लिएका छन्।
सुन्दरहरैँचा नगरपालिका–११ स्थित आदर्श आधारभूत विद्यालय, तिनमुडे बस्तीमा आयोजित शिविरमा स्थानीयले निःशुल्क आँखा परीक्षण गराएका छन्। गोल्छा आँखा अस्पताल, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा आँखाको परीक्षणसँगै रगतमा चिनीको मात्रा (सुगर) तथा रक्तचाप (प्रेसर) समेत जाँच गरिएको थियो।
स्वास्थ्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता र आर्थिक कठिनाइका कारण नियमित जाँच गराउन नसक्ने नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको हो। स्थानीय बस्तीमै स्वास्थ्य सेवा उपलब्ध गराइएपछि सेवाग्राहीलाई सहज भएको छ। शिविरले सामान्य स्वास्थ्य समस्याको पहिचान गर्न तथा समयमै स्वास्थ्य परीक्षण गराउने अवसर प्रदान गरेको छ।
‘सहयोगी मनहरू’का अध्यक्ष भीम अधिकारीले संस्थाले नामअनुसार नै व्यवहारमा मानवीय सहयोग र सामाजिक सेवाको भावनालाई आत्मसात् गर्दै काम गरिरहेको बताए। समाजमा समस्यामा परेका, आर्थिक रूपमा कमजोर तथा सहयोगको आवश्यकता भएका नागरिकलाई साथ दिने उद्देश्यले संस्थाले विभिन्न सामाजिक तथा सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको उनको भनाइ छ।
अधिकारीले शिविर सफल बनाउन प्राविधिक सहयोग उपलब्ध गराउने गोल्छा आँखा अस्पताल, विराटनगर, स्वास्थ्य परीक्षणका लागि सहभागी हुने सेवाग्राही तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै व्यक्ति र संस्थाप्रति आभार व्यक्त गरे।
उनले आगामी दिनमा पनि समुदायका आवश्यकता पहिचान गरी स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन तथा मानवीय सहायताका क्षेत्रमा संस्थाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
समुदायका नागरिकलाई आवश्यक परेको समयमा सहयोगको हात बढाउनु नै सामाजिक सेवाको मूल मर्म हो। तिनमुडे बस्तीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरले स्थानीयस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न तथा सेवाको पहुँच विस्तार गर्न सामाजिक संस्थाको भूमिका महत्त्वपूर्ण हुने सन्देश दिएको छ।





