;

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका विराटचोकमा आगामी असोज २५ गतेदेखि कार्तिक १० गतेसम्म सुन्दरहरैँचा फुड फेस्टिभल आयोजना हुने भएको छ।

सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको फेस्टिभलको तयारी स्वरूप बिहिवार मेला स्थल सरसफाइ गरिएको छ। ‘रन सुन्दरहरैँचा’को आयोजनामा भएको बृहत् सरसफाइ कार्यक्रममा विभिन्न संघसंस्था तथा स्थानीयको सहभागिता रहेको थियो। विराटचोक, खोर्साने, बाघझोडा हुँदै औद्योगिक प्रदर्शनी केन्द्रमा आएर सरसफाइ गरिएको हो।

फुड फेस्टिभलका संयोजक भोलेश्वर दुलालले दशैँ र तिहारलाई लक्षित गरी आयोजना गर्न लागिएको फेस्टिभलमा विभिन्न नयाँ स्वादका खानाका परिकार उपलब्ध हुने बताए । सुन्दरहरैँचामा पहिलोपटक आयोजना गर्न लागिएको फुड फेस्टिभललाई नयाँ र विशेष बनाउने तयारी भइरहेको उनले जानकारी दिए । दुलाल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्षसमेत हुन् ।

सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले ‘हिँडौँ, स्वास्थ्यका लागि’ भन्ने अभियानअन्तर्गत विराटचोकदेखि खोर्साने, बाघझोडा हुँदै मेला स्थलसम्म आएर सरसफाइ गरिएको बताए फुड फेस्टिभलले स्थानीय व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने भन्दै उहाँले सबै क्षेत्रको साथ र सहयोगको अपेक्षा गरे ।

संघका महासचिव हरि कार्कीका अनुसार फुड फेस्टिभलसँगै मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम, रमाइला खेलहरू र चर्चित कलाकारहरूको प्रस्तुति समेत रहनेछ।

तपाईको प्रतिक्रिया

;