सुन्दरहरैंचा / नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा मोरङको सुन्दरहरैंचा नगरपालिकामा पार्टीको नगर सभापति पदका लागि पाँच जनाले उम्मेदवारी घोषणा गरेका छन्।
नगर सभापति बन्ने आकांक्षासहित होमनाथ पोखरेल, हरि पौडेल, रञ्जित कार्की, कृष्णप्रसाद भट्टराई र दिलिप थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उम्मेदवारी घोषणासँगै नगर कांग्रेसभित्र आगामी नेतृत्वलाई लिएर राजनीतिक सरगर्मीसमेत बढेको छ।
नगर सभापतिको दौडमा देखिएका पाँचै जना आ–आफ्नो राजनीतिक अनुभव, संगठनमा रहेको सक्रियता र कार्यकर्तासँगको सम्बन्धलाई आधार बनाउँदै नेतृत्वका लागि अघि बढेका छन्। उम्मेदवारहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीचको एकता मजबुत बनाउने तथा स्थानीय तहमा कांग्रेसको सांगठनिक उपस्थिति प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्।
सुन्दरहरैंचामा कांग्रेसको नगर नेतृत्वका लागि एकैपटक पाँच जनाको उम्मेदवारी घोषणा भएपछि आगामी अधिवेशनलाई चासोका साथ हेरिएको छ। उम्मेदवारहरूबीचको प्रतिस्पर्धाले नगर कांग्रेसको आन्तरिक राजनीतिलाई समेत थप रोचक बनाएको छ।
अब अधिवेशनको प्रक्रिया अघि बढ्दै जाँदा उम्मेदवारहरूले आफ्नो पक्षमा क्षेत्रीय तथा नगर तहका प्रतिनिधि र कार्यकर्ताको समर्थन जुटाउने प्रयासलाई तीव्रता दिने देखिएको छ। सभापति पदमा देखिएको बहुपक्षीय प्रतिस्पर्धाले अन्ततः पार्टीको आगामी नगर नेतृत्व कसको हातमा पुग्छ भन्ने विषयलाई थप चर्चामा ल्याएको छ।





